राजनीति

एसपिपी खारेज गर्नुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गरिने बताउनुभएको छ ।

पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।

एसपिपीको विषयमा आफू, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका बीचमा आजै छलफल भएको बताउँदै उहाँले यसलाई अस्वीकार गरिने प्रष्ट पार्नुभयो ।

यो अन्योलको अवस्थालाई चिर्न आफूहरूले छलफल जारी राखेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग फेरि कुराकानी गर्ने समझदारी भएको बताउनुभयो । अध्यक्ष नेपालले सन् २०१५ मा नेपाली सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सोही सन्दर्भमा छलफल जारी रहेको जानकारी उहाँले दिनुभयो ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले एसपिपीको विपक्षमा रहेको बताएपछि आफूहरू ढुक्क भएको भए पनि पछिल्लोपटक सार्वजनिक पत्रले अन्योल थपेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अर्को कागज आइपुग्यो, नेपाली सेनाका प्रमुखले नै हस्ताक्षर गरेको, कुन सरकारको पालामा र को प्रधानमन्त्री हुँदा भन्ने कुरा पनि उठ्यो । उठ्दै जाँदा फेरि संसद् जसले आवाज उठाएका थिए, जोडदाररूपमा हङ्गामा गरेका थिए । त्यही पार्टी जोडिएको देखिएको छ ।”

उक्त कार्यक्रममा अध्यक्ष नेपालले युवा सङ्घको उपत्यका युवा विशेष जिल्ला कमिटीको नवगठित कार्यसमितिलाई शपथ गराउनुभयो । सुशील भट्टराईको नेतृत्वमा ३१ सदस्यीय युवा सङ्घको कमिटी गठन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.