जागीरको प्रलोभन दिएर पटकपटक बलात्कार, गर्भवती भएपछि घटना खुल्यो
कामको खोजीमा पूर्वी पहाडबाट काठमाडौं आएकी एक १५ वर्षीया युवतीलाई जागीरा लगाइदिने प्रलोभन दिएर नेपाल प्रहरीमा कार्यरत रहेका एक सहित तीन व्यक्तिले पटकपटक बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको छ ।
घटना विवरण अनुसार संखुवासभाकी १५ वर्षीय किशोरी गत १५ माघ २०७९ मा घरबाट भागेर काठमाडौं आएर जसको शरणमाा बसिन त्यहीँ पटकपटक बलात्कृत भएकी हुन् ।
बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल प्रहरीका कर्मचारी संखुवासभाका २६ वर्षीय अजय लिम्बु, रसुवाका ३७ वर्षीय रामचन्द्र तामाङ, ३६ वर्षीय मिङ्गमा तामाङलाई पक्राउ गरेको छ ।
किशोरी अहिले गर्भवती भएको दुई महिना नाघेको प्रहरीको भनाइ छ । गर्भ बसेपछि विभिन्न व्यक्ति हुँदै परिवारसम्म पुगेर यो घटना बाहिर आएको हो । पीडितले बच्चा कसको हो भन्ने आफूलाई थाहा नभएको बताएकी छन् । प्रहरीले डीएनए जाँचका लागि नमूना समेत लिएको छ ।
पीडित किशोरीका दाइले काठमाडौं आएर प्रहरी वृत्त, बालाजुमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पठाएको थियो ।
प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो । त्यस क्रममा अदालतले आइतबार तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्