जिम्बाव्वेमा जारी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाललाई अमेरिकाले जितका लागि २०८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो ।
जहानगिरले ७९ बलमा १० चौका र तीन छक्काको सहयोगमा एक सय रन बनाए भने सुसान्त मोदानीले ४२, गजनन्द सिंहले २६, जेसि सिंहले १२ रन बनाए ।
अमेरिकालाई सस्तैमा समेट्ने क्रमममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए ।
यसअघि छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा बलर नचल्दा हार खेपेको नेपालले अमेरिकासँग बलिङमा सुधार गरेको हो ।
नेपाललाई अमेरिकाविरुद्ध जित निकाल्न ब्याटिङमा पनि राम्रो गर्नु पर्नेछ । अमेरिका आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।
छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्