समाजलाई सही दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सही दिशा प्रदान गर्न कलाकारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
मंगलबार विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा आयोजना गरेको रक्तदान, स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा पौडेलले हरेक राजनीतिक परिबर्तनमा कलाकारहरुले आफ्नो कलाको माध्यमबाट जनचेतना फैलाउन तथा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनीहरुको विकासको लागि राज्यले बिशेष नीति निर्माण गर्नुपर्ने र सोकालागि राज्यका निर्णायक निकायहरुसंग आफू समन्वयमा जुट्ने पनि बताउनुभएको छ ।
कलाकारहरु राष्ट्रको गहना मात्रै नभएर अमूल्य सम्पत्ति भए पनि भविष्यको चिन्ताका कारण कलाकार पलायन हुने क्रम बिद्यमान रहेकाले सोको निराकरणका लागि उनीहरुको आय आर्जनका पाटाहरुलाई व्वस्थित बनाउन प्रभावकारी नीति निर्माण गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो ।
सो अवसरमा पौडेलले अग्रज कलाकार सम्मरबहादुर गायक, लोकदोहोरी गीत प्रतिष्ठानका निवर्तमान केन्द्रीय उप महासचिव चोलेन्द्र पौडेल, ७९ औ पटक रक्तदान गर्ने लक्ष्मण गुरुङ लगायतलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकीका प्राज्ञ सभा सदस्य शंकर विरही गुरुङ, गायक तारापति सुवेदी, तमुधिं नेपालका अध्यक्ष होम गुरुङ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सहअध्यक्ष राजेन्द्र सापकोटा लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ युनिट रगत संकलन गरिएको थियो भने कार्यक्रम संचालन सचिव राजन कार्कीले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्