संस्कृति

एसओएस बालग्राममा योग दिवस विशेष कार्यक्रम

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ ।

प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुभएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले योग जीवनमा अपरिहार्यता रहेको चर्चा गर्नुभयो । उहाँले स्वस्थ जीवनका लागि सबैले योगाभ्यासलाई अपनाउनुपर्ने बताउनुभयो ।

योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो, नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमताका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, व्यक्तिमा सकारात्मक सोचको विकास, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गर्नुुभयो ।

“नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपिल गर्दछु ।”

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्लेले योग दिवसको महत्व र सरकारले मनाउँदै आएको विश्व योग दिवसका बारेमा जानकारी गराउनु भयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले पठाउनुभएको शुभकामना सन्देश वाचन गर्नुभयो ।

सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी कार्यक्रममा ओमकार योग आयुर्वेद गुरुकुलबाट स्वस्तिक वाचनका साथै योग प्रोटोकलको आधारमा ओगाभ्यास गरिएको थियो । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस नेपालले हरेक वर्ष मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.