कला/मनोरन्जनकलिउड

पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के

अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उहाँको चाहना छ । त्यसैले उहाँ छनौटमा विशेष ध्यान दिनुहुन्छ । चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा हुनुहुन्छ ।

अभिनेत्री शिल्पा मास्के

यसमा उहाँले रेडियोकर्मीको भूमिका निर्वाह गर्नुभएको छ । “मेरो पात्रको नाम आव्या हो । उनले आत्मनिर्भर हुँदा पनि परिवारको रोजाइमा विवाह गरेकी हुन्”, उहाँले पात्रको बारेमा जानकारी दिनुभयो, “यद्यपि परिवार र समाजको कारणले आफूभित्र रहेका असन्तुष्टिलाई दबाउँदै विवाहित जीवनलाई निर्वाह गरिरहेकी छन् ।”

सुरज पाण्डेको पहिलो निर्देशकीय चलचित्रमा अभिनेत्री मास्के ‘बोल्ड’ देखिनुभएको छ । उहाँलाई यो भूमिका प्रस्ताव आउँदा डर पनि लागेको थियो । “किनकि हामी कहाँ बोल्ड दृश्यको चर्चा धेरै हुन्छ । मैले उक्त पात्रलाई निर्वाह गरे पनि त्यो प्रश्न मलाई नै आउँछ । त्यसैले अभिनय गर्ने सहमति दिनु अगाडि धेरै सोचेकी थिएँ”, उहाँले भन्नुभयो ।

उहाँलाई ‘बोल्ड दृश्य दिएको ?’ भन्ने पनि छन् तर, अभिनेत्री मास्के पर्दामा देखिएकी आफू नभई ‘आव्या’ रहेको बताउनुहुन्छ । उहाँ चलचित्रमा वैवाहिक जीवनबाट दुःखी भएर परपुरुषको प्रेममा परेकी महिलाको भूमिकामा देखिँदै हुनुहुन्छ ।

अविवाहित भएकाले पात्रलाई जीवन्त बनाउन उहाँले केही अनुसन्धान पनि गर्नुभयो । विवाहित महिला अन्यप्रति आकर्षित हुनुको कारण बुझेर मात्र चलचित्रको पात्रलाई प्रस्तुत गर्न मानसिकरूपमा उहाँ तयार हुनुभएको बताउनुभयो ।

“चलचित्रमा हाम्रो समाजको एउटा पाटोलाई देखाइएको छ । यो कथालाई पर्दामा ल्याउँदा केही बोल्ड दृश्य पनि छन्, तर ती कलात्मक शैलीमा छायाङ्कन गरिएको छ”, अभिनेत्री मास्केले भन्नुभयो । उहाँले यो भूमिकालाई निर्वाह गर्ने सहमति दिनुमा निर्माण टिम पनि कारक छ । किनकि निर्माण समूहसँग विश्वास भएन भने ती दृश्य अस्वाभाविक र अपाच्य लाग्न सक्छ तर, मलाई टिमसँग विश्वास थियो ।”

उहाँले पात्रका विषयमा छायाङ्कनअगावै गरिने कार्यशालामा पूर्णरूपमा स्पष्ट भएको बताउनुभयो । उहाँले निर्माण समूहसँग काम गर्नुमा ‘पशुपति प्रसाद’ जस्ता चलचित्र निर्देशन गर्नुभएका दीपेन्द्रकुमार खनालद्वारा लिखित कथा रहेको कारण बताउनुभयो । “निर्देशक खनालसँग काम गर्ने इच्छा थियो । समाजकै घटनालाई काल्पनिक पात्रमार्फत प्रस्तुत गर्न किन हिच्किचाउने भनेर आफैँलाई सम्झाएर आव्या बन्न तयार भएँ”, अभिनेत्री मास्केले भन्नुभयो । चलचित्रमा उहाँसँगै अभिनेता कोसिस क्षेत्री, गौरव विष्टलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.