वर्षाको मौसम, घना आवादी, सरसफाईको प्रचूर अभाव अनि लामो समयदेखि उठ्न नसकेको फोहरका कारण काठमाडौं उपत्यकामा हैजाको महामारीको जोखिम बढेको छ ।
हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजाका बिरामी पुष्टि भएको छ । पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।
अब यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत हुनुपर्ने उहाँको सुझाव छ । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा. रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको पनि बताउनुभयो ।
डा. रावलले हाल टेकु अस्पतालमा १३ जना झाडापखालाका बिरामी भर्ना भएका छन् भने तीमध्ये पाँच जना आईसीयूमा उपचाररत छन् । हैजाको समस्या यसै गरी बढ्दै गएमा आगामी दिनमा सघन उपचार कक्ष नपाउने अवस्था हुनसक्ने चेतावनी दिनुभएको छ ।
मानिसको व्यवहार, खानपान तथा पानी पिउँदा सजग हुनुपर्ने सुझाव दिनुभयो । उहाँले ताजा र सुरक्षित खानेकुरा मात्र खानुपर्ने भन्दै हैजा घरबाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने बताउनुभयो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौँमा हैजा फैलनुमा धेरै दिनसम्म फोहोर व्यवस्थापन नहुनु पनि कारण रहेको बताउनुभयो ।
उहाँले चमेना गृह, रेस्टुरेन्ट वा कार्यालयजस्ता ठाउँमा हैजाको जीवाणु मिसिएको पानीको प्रयोग गरिएको हुनसक्ने भन्दै विशेषतः पानीमा जीवाणु मिसिएको हुनसक्ने बताउनुभयो ।
हैजाका लक्षण
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले दूषित खाना वा पानीको प्रयोग गरेपछि लक्षण देखिन सक्ने बताउनुभयो । उहाँले हैजाका लक्षणमा अचानक पानीजस्तो तारन्तार दिसा हुने, केहीमा सुरुवाती अवस्थामा पेटमा असजिलो हुने र खान मन नलाग्ने हुने, विस्तारै चौलानी पानीजस्तो पातलो दिसा भइरहने र दैनिक ५०, ६० पटकसम्म पातलो दिसा लाग्ने बताउनुभयो ।
बान्ता पनि तारन्तार हुने, खुट्टाका मासु बाउँडिने, असाध्यै तिर्खा लाग्ने, छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चाका तालुमा खाल्टो पर्ने, आँखाभित्र गाडिने, आँसु नआउने, ओठमुख सुक्खा हुने, छालाको चमक हराउने, सुरुमा एकदम तिर्खाएको जस्तो देखिए लक्षण हुनसक्छ ।
प्रतिक्रिया राख्नुहोस्