राजनीति

“इम्बोस्ड नम्बर प्लेट नेपाली देवनागरी भाषामा नै राखिन्छ”

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको केही भाग नेपाली देवनागरी भाषामा लेख्ने गरी मौजुदा कानून संशोधन भइसकेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा मन्त्री ज्वालाले संशोधिन कानुन अनुसार नम्बर प्लेटमा प्रदेशको नाम नेपाली भाषामा लेख्ने गरी आपूर्तिकर्ता कम्पनीलाई संशोधित कार्यादेश दिन प्रक्रिया अगाडि बढाइएको र यो व्यवस्था छिट्टै लागू हुने पनि बताउनुभयो ।

यातायात व्यवस्था विभागले सरोकारवालाहरूको सहभागितामा तयार गरिएका विभिन्न १३ वटा प्यारामिटरका आधारमा वैज्ञानिक भाडादर प्रणाली लागू भएको जानकारी गराउँदै मन्त्री ज्वालाले गत जेठ ३ गते यातायात व्यवस्था विभागको कार्यक्षेत्रअनुसार अन्तरप्रदेशमा चल्ने सार्वजनिक सवारी साधन तथा मालवाहक सवारीमा नयाँ भाडादर लागू गरिएको बताउनुभयो ।

समायोजन भएको भाडादर कडाइका साथ लागू गरिने त्यसमा कुनै कमजोरी हुन नदिने मन्त्री ज्वालाको भनाइ छ । सूचना प्रविधिमा आधारित भएर सञ्चालित यातायात सेवालाई थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानूनी र प्रविधिगत व्यवस्थाको कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारीको यान्त्रिक परीक्षणलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै मन्त्री ज्वालाले सडक दुर्घटना न्यून गर्न रोड सेफ्टी अडिट तथा त्यसका आधारमा पूर्वाधार निर्माण गर्ने र सडक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “मन्त्रालयमा योजना र बजेट निर्माण गर्ने क्रममा कर्मचारी साथीहरू भन्दै हुनुहुन्थ्यो– यति सन्ततुलित रूपमा यस अघि कहिल्यै योजना बनाइएको थिएन । तर परिस्थिति, समय र बजेटको बाध्यताले गर्दा सबैका माग सम्बोधन गर्न सकिएन । म यसमा निकै दुःखी छु ।”

बजेट कम भएका योजनामध्ये कतिपयलाई बजेट सुनिश्चित गरेर, कतिपयलाई बहुवर्षीय बोलपत्र गरेर, आवश्यकता पर्दा संशोधन गरेर, खर्च नहुने बजेट खर्च हुने योजनामा रकमान्तर गरेर भए पनि आवश्यक चासोलाई सम्बोधन गरिने उहाँले विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.