जन सरोकार

पशुपति क्षेत्र २४ सैं घण्टा सफा राख्न तालिम

विश्वभरका हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखाैँ पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ ।

साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १ गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्छ । लाखौँ भक्तजनको उपस्थितिबीच पशुपतिनाथ मन्दिर मुख्य क्षेत्रलाई सफा र स्वच्छ राख्न पशुपति क्षेत्र विकास कोष लागि परेको छ ।

मन्दिरलाई २४सै घण्टा सफा राख्ने उद्देश्यले कोषले सफाइ कर्मचारीलाई १० दिने सफाइ व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिममा कोषका ६७ कर्मचारी सहभागी रहेको प्रशिक्षक मनऋषि धितालले जानकारी दिनुभयो ।

पशुपतिनाथ जस्तो पवित्रस्थललाई सधैँ सफा र स्वच्छ राख्न तालिम, प्रशिक्षणजस्ता उत्प्रेरणा, आधुनिक उपकरण र नियमित अनुगमनको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ । प्रशिक्षार्थीलाई १६ समूह बनाएर अलग अलग ठाउँमा काममा पठाइएको थियो । तालिमको सुरुमा काम लगाउँदा परम्परागत शैलीमा मात्र हुने गरेको सफाइ उपकरणको प्रयोगले समूह कार्यको अभ्यास गराएपछि प्रभावकारी देखिएको थियो ।

कोषले लाखाँै रुपैयाँ लगानी गरेर बनाएका भौतिक पूर्वाधारका संरचनामा समेत सही तरिकाले सफाइ हुन नसकेको भेटिएको प्रशिक्षक धितालले सुनाउनुभयो । “सफाइ कर्मचारीमा आधुनिक उपकरणको प्रयोग गरी काम गर्ने क्षमताको विकास नहुनु मुख्य कमजोरी पाइयो, तालिमपछि सफाइ कर्मचारीमा नयाँ शैलीले काम गर्ने क्षमताको विकास भएको छ, यसलाई निरन्तरता दिन कोषले उपकरणको पर्याप्त व्यवस्थाका साथै नियमित अनुगमन गर्नुपर्छ”–उहाँले भन्नुभयो ।

विसं २०४४ मा स्थापना भएको कोषका कर्मचारीका लागि पहिलोपटक प्रशिक्षण कार्यक्रम राखिएको हो । विसं २०५० भदौदेखि पशुपति क्षेत्रमा सफाइ काम गर्दै आउनुभएकी तारादेवी घिमिरे पहिलो पटक तालिम पाएको बताउनुहुन्छ ।

तालिमपछि उपकरण प्रयोग गरेर नयाँ शैलीमा सफाइ गर्न सकिने उहाँको विश्वास छ । पशुपति क्षेत्र २६४ हेक्टरमा फैलिएको छ । पशुपति क्षेत्रमा केही भाग वनसमेत छ । मुख्य मन्दिर क्षेत्र रहेको भागमा पनि नियमित सफाइ नभएको गुनासो भक्तजनले गर्दैआएका छन् ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारी पशुपति क्षेत्रमा सफाइका लागि १०० कर्मचारी परिचालन गरिएको बताउनुहुन्छ । कोषका तर्फबाट ४०, नेपाल इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट ४० तथा नेपाल आयल निगम र नेपाल एसबिआई बैङ्कका तर्फबाट १०÷१० कर्मचारीको पशुपति क्षेत्रमा सफाइका लागि व्यवस्था गरिएको छ । निगमले कोषलाई सफाइमा उपयोग गर्ने गरी केही उपकरणसमेत उपलब्ध गराएको छ ।

पशुपति क्षेत्रको सफाइमा ‘मब बकेट’ उपकरण प्रयोगमा ल्याइएको छैन । बाल्टीलाई मात्र प्रयोग गर्दा समस्या हुने गरेको सफाइ कर्मचारीको भनाइ छ । यस्ता उपकरण प्रयोगमा नल्याउँदा फोहरबाट सङ्क्रमण फैलन सक्छ ।

एक वर्षदेखि पशुपति क्षेत्रका सफाइमा काम गरिरहनुभएकी कविता उप्रेती पर्याप्त मात्रामा आधुनिक उपकरण नहुँदा समस्या हुने गरेको स्वीकार्नुहुन्छ । तालिममा सहभागीलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले पशुपति क्षेत्रको सफाइ पुण्य काम भएकाले मन लगाएर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अध्यक्ष खेम लकाइलगायतले तालिमपछि पशुपति क्षेत्रको सफाइमा सुधार हुने तथा यसको नियमित अनुगमनसमेत गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.