सम्पादकीय

‘भ्रान्ति सम्राट’ बनेका ‘क्रान्तिनायक’हरुका लागि

देशमा विकास, समृद्धि र जनताको सार्वभौम अधिकार स्थापनाका लागि वैचारिक निष्ठा, त्याग र समर्पणभाव प्रदर्शन गर्दै जनमानसमा चेतना जागृत गराउन प्रमुख राजनीतिक दलहरुको भूूमिका गर्वलायक छ ।

तर, देशमा राजनीतिक परिवर्तनका लागि जनतालाई उत्सर्गपूर्ण योगदानमा सामेल गराउन प्रेरित गर्न विगतमा महत्वपूर्ण योगदान दिएका परिवर्तनका संवाहक राजनीतिक शक्तिसमूहहरू अहिले पथविचलित अवस्थामा छन् । विगतको आफ्नो भूमिकाको सावाँ–ब्याज देश र जनताले होइनन आफूहरुले मात्रै पाउनुपर्छ भन्ने गलत अभ्यासमा छन् ।

यसैको परिणाम नेपालको वर्तमान अवस्था ‘भताभुंग देशको लथालिंग चाला जजस्ले सक्छ लुटीलुटी खाला’ भन्ने उदानसंग ठ्याक्कै मिल्दो छ । दलहरुकै भूमिकाकै कारण राष्ट्रिय परिस्थिति खलबलिँदै गएको छ । शक्ति बाहिर हुँदा देश र जनताको पक्षमा गगनभेदी आवाज उठाउनेहरू नै सत्तामा पुगेपछि देश र जनतालाई नै लुटीलुटी खान उद्यत हुने गरेको भाष्य नेपाली समाजमा खडा भैरहेको छ ।

जनताका नाममा राजनीतिको फलाको गर्नेहरू नै देश र जनताको हुर्मत लुट्दै सत्ता र शक्तिको चरम दुरुपयोग गरी आफू, आफन्त र अनुचरहरूको सुखसुविधा र निहित स्वार्थपूर्तिका लागि मात्र कृतसंकल्पित हुनेगरेको देखिएकाले उनीहरूको विरोधाभाषी चरित्र उदांगिदै गैरहेको छ । यो अवस्था देशका लागि दुर्भाग्य हो । आफ्नो शक्ति कायम राख्न, आफ्नो अस्तित्व सावित गर्न अनर्गल राजनीतिक तिकडमबाजी गर्दै जनतामा भ्रम छर्ने प्रयास निरन्तर भैरहेको छ । यस्तो बिडम्बनापूर्ण परिस्थितिकै उपजका रूपमा राष्ट्रिय परिस्थितिमा सुधारका लक्षणहरू मनोकल्पनामा नै सीमित भैरहेका छन् ।

राजनीतिमा वैचारिक निष्ठाका साथसाथै इमान र चारित्रिक सबलताको ठूलो महत्व रहन्छ । शक्ति र शासनमा बस्नेहरू निष्ठावान्, इमान्दार, अनुशासित र निर्धारित लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध प्रयासमा जुटेको खण्डमा देश समुन्नतिको मार्गमा अवश्य नै अगाडि बढ्नसक्छ । यसका लागि काम गर्न चाहने र गर्नसक्नेहरुलाई उत्साहित–प्रोत्साहित गर्नुपर्नेमा हुर्मत लिने काम भैरहेको छ ।

समाजको जराजरासम्म राजनीतिकरण गरेर बसेका स्थापित राजनीतिक दलका नेताहरुले आफू बाहेक अरुलाई नेता नै नमान्ने र राजनीति आफ्नै मात्र पेवाा ठान्ने गरेका कारण समाज पनि त्यस्तै मनोवृत्तिमा अघि बढिरहेको छ, घात, प्रतिघात, विश्वासघात, लुटपाट, अपराध बढिरहेको छ । सहिष्णुता हराएको छ ।

राजनीति गर्नेहरुले, सत्ता र शक्तिमा बसेकाहरुले सहिष्णु भएर, देशका लाग सहकार्य गर्ने वातावरण बनाएका भए आज देशको अवस्था यस्तो हुने थिएन । दल भनेका लुटाहाहरुको समूह हो, देशको विकास नचाहने शक्ति हो भन्ने गलत मान्यता आम जनतामा बढ्ने थिएन । आज दलका सदस्य बाहेक अरुलाई व्यवस्थाप्रति नै वितृष्णा जागिरहेको छ । यसको कारण गलत राजनीतिक अभ्यास नै हो ।

यसैकारण देशको वर्तमान राजनीतिक अवस्थालाई नजिकबाट नियाल्ने जुनसुकै तह र हैसियतका व्यक्तिहरूले अहिलेको राजनीतिक नेतृत्वमा रहेका र पटक पटक सत्ता सञ्चालनको अवसर पाएका कुनै पनि दलका नेताहरूको बोली र व्यवहारमा समन्वय नरहेको र पथविचनकै अभ्यासमा मुग्ध भैरहेको खुलम्मखुला आरोप लगाउन थालेका छन् । यो गलत हो र यस्तो अवस्थाको अन्त्य हुनुपर्दछ ।

नेताहरूले लेख्ने र बोल्ने गरेका कुरा र उनीहरूले गर्ने गरेको व्यवहार ठीक उल्टो रहने गरेको छ । यदि उनीहरूको बोली र व्यवहारमा एउटै रुप देखिन सकेको भए उनीहरूको इमान, निष्ठा र चरित्रमाथि बारम्वार प्रश्न उठने नै थिएन । देशको अवस्था पनि यस्तो हुने थिएन । आफू सत्तामा बस्दा केही नगर्ने, अरु सत्तामाा पुगेपछि यो किन भएन, त्यो किन भएन भन्दै प्रश्न मात्र होइन, आलोचना मात्रै गर्ने, रचनात्मक सुझावको साटो आक्रोशजन्य धारणा प्रवाह गर्ने काम भैरहेको छ ।

यसैकारण राजनीति नेतृत्वप्रति विश्वास हराउँदै गएको छ । क्रान्तिनायकहरु भ्रान्ति सम्राट बन्दै शक्ति उपभोगको लिप्सा र राज्यदोहनको प्रवृत्तिले राष्ट्रिय समृद्धिका सम्भावनाहरू अनपेक्षित रुपमा नै टर्दैमात्र गएका छन् । सत्ता भोगको अतृप्त आकांक्षाले ग्रस्त राजनीतिक नेतृत्ववर्ग सधैं नै मनोत्तेजनाले ग्रस्त र प्रतिशोधात्मक चिन्तनबाट निर्देशित भएर निषेधात्मक वातावरण सिर्जनामा नै निरन्तर उद्यत रहेको देखिन्छ ।

नेपाली जनता घुमीफिरी यस्तै पात्रहरूलाई नेता मानेर हिड्न बाध्य भैरहेका छन् । छलछाम, तिगडमबाजी, षडयन्त्र र पलटबाजी गर्न जो दक्ष हुन्छ उसैले बाजी मार्नसक्छ । राजनीतिमा वैचारिक निष्ठा, इमान्दारी र नैतिकताको श्खलन जुन गतिमा हुन्छ देश र जनताको दुर्दशाको मापन पनि त्यसैबाट हुनसक्छ । यस्तो विरोधाभाषी प्रवृत्ति, मनोदशा र चरित्र नै सामाजिक आर्थिक रुपान्तरणका माध्यमले देशलाई समृद्ध र जनतालाई समुन्नत बनाउने कार्यमा बाधक बनिरहेको देखिन्छ ।

एकजना नेता इमान्दार भएर प्रयास गर्ने हो भने देशमा धेरै काम हुनसक्छ भन्ने उदाहरण एक होइन अनेक छन् । तर, नेताहरुलाई आफन्तवादले यसरी गाँजेको छ कि उनीहरु पार्टी, समूह, परिवार र पार्टी सदस्यहरुको स्वार्थमा बाहेक अरु केही नगर्ने र आम जनतालाई सधैं भ्रममा राखेर विकास र समृद्धिको आकांक्षामा तडपाइरहने चरित्र प्रदर्शन गरिरहेका छन् । यो नै मुलुकको दुभाग्य हो । नेताहरुले आफ्ना विगतको त्याग, बलिदान, संघर्षलाई स्मरण गर्दै त्यसको प्रतिफल देश र जनतालाई दिने जमर्को अब पनि नगर्ने हो भने ‘रामराम सिवाय केही भन्न सकिन्न ? देशको राजनीतिक अवस्था परिवर्तनका लागि योगदान दिएकाहरुले शब्दमा मात्र होइन, कर्मबाटै आफ्नो इतिहास स्वर्णिम बनाउने अवसर अझै कायम छ । सबैमा सद्बुद्धि आओस् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.