खेलविविध

मनिताले पेरिस ओलम्पिक खेल्ने

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् ।

मनिता श्रेष्ठ

आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनिताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो । मनीताले महिला ५७ किलोग्राममुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

दक्षिण एसियाली खेलकुद (साग) को १२ औँ र १३ औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनिताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी थिइन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण जितेकी थिइन् । मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।

मनितााले कीर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कास्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन् । मनीतासँग एसियाली खेलकुदको १८ औँ १९ औँ संस्करण खेलेको अनुभव छ ।

पेरिस ओलम्पिककै लागि मनिताले जापान, चाइनिज ताइपेइ, हङ्कङ र कीर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । उनी राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेकी छन् ।

काठमाडौँको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) बाट जुडो खेल्न सुरु गरेकी मनिता विगत पाँच वर्षदेखि नेपाल प्रहरीमा आबद्ध छिन् । उनका सुरुआती गुरु टोकियो ओलम्पिक–२०२० मा प्रशिक्षकको भूमिका निर्वाह गरेका सूर्यनारायण श्रेष्ठ हुनुहुन्छ । पाममा हाल २८ जना आश्रित छन् र सबै जुडो खेल्छन् ।

ओलम्पिकमा सहभागी हुने मनिता छैटौँ नेपाली जुडो खेलाडी हुन् । यसअघि १९८८ को सिओल ओलम्पिकमा गङ्गाबहादुर डङ्गोल र ऋषिराम प्रधान, २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री, २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए ।

मनिताले छनोट भएकामा आश्चर्य र खुसी लागेको प्रतिक्रिया दिँदै पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने बताइन् । “सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो, पत्याउनै गाह्रो भयो । त्यसपछि सूर्य गुरुको फोन आयो, अनि मात्र विश्वस्त भए । ओलम्पिकजस्तो ठूलो खेलकुदमा छनोट भएकामा आश्चर्य र खुसी लागेको छ”, मनिताले भनिन् ,“पेरिस ओलम्पिकमा अहिलेसम्मकै उत्कृष्ट दिने प्रयास गर्ने छु ।” पेरिस ओलम्पिकमा हालसम्म नेपालबाट सहभागी हुने खेलाडीको सङ्ख्या सात पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.