जन सरोकार

एसईईमा सहभागी आधा विद्यार्थीले मात्रै कक्षा ११ पढ्न पाउने

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा कुल चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । नतिजा सार्वजनिक हुँदा २ लाख ४२ हजार ९२ जनामात्रै कक्षा ११ पढ्न पाउने गरी उत्तीर्ण भए ।

परीक्षार्थीको संख्या र उत्तीर्ण संख्याको अनुपात हेर्दा यस वर्ष ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । यद्यपि नतिजामा अनुत्तीर्ण भनेर उल्लेख नभए प्राप्त ग्रेडका आधारमा उत्तीर्ण र अनुत्तीर्ण छुट्याउन सकिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

कुन प्रदेशको नतिजा कस्तो ?

बोर्डका अनुसार यसपटकको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट एसईईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका छन् । मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए । त्यसमध्ये ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।

कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएका थिए । जसमा ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । बोर्डका अनुसार गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशबाट एसईई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् । सुदूरपश्चिम ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.