राजनीति

सरकारले भारत र चीनबीच खेल्न खोजेको आरोप

पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले चीन र भारतबीच खेल्न खोजेको आरोप लगाउँदै बिआरआई परियोजनामा हस्ताक्षरको तयारी भएको विषयमा आपत्ति जनाउनुभएको छ ।

सांसद साउदले चिनियाँ उप–विदेशमन्त्री सुन वेइतोङ नेपालमा रहेका बेला प्रधानमन्त्री प्रचण्डले संसदमै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षरको तयारी भइरहेको बताएर द्वन्द्व सिर्जना गर्न खोजेको बताउनुभयो ।

उहाँले दलहरुको बीचमा साझा दृष्टिकोण बनाएर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने भए पनि यो दस्तावेजमा हस्ताक्षर गर्ने तयारी कुन चरणमा पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल नभएको भन्दै रोष व्यक्त गर्नुभयो ।

सरकारलाई सचेत गराउँदै साउदले भन्नुभयो, ‘चीनलाई हामी बीआरआईमा जाँदैछौं भन्ने सन्देश दिने र त्यसलाई सत्ता समीकरणमा प्रयोग गर्ने, अरु देशलाई हामीले बीआरआई रोकिराखेका छौं भन्ने कच्चा कूटनीति भयो भने छिमेकी मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता घट्छ ।’

चिनियाँ राष्ट्रपति सी जिङपिङले सन् २०१३ मा बीआरआई परियोजना घोषणा गरेका थिए । नेपालले सन् २०१७ मे १२ मा बीआरआई परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै साउदले सरकारले ११ देशका राजदूत फिर्ता बोलाएर कच्चा कूटनीति गरेको आरोप लगाउँदै यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता घटेको बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका साउदले राजदूत नियुक्तिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मापदण्ड तयार गरेर आवेदन आव्हान गरेकोमा पनि आपत्ति जनाउनुभयो ।

उहाँले राजदूतजस्तो संवेदनशील पदलाई पारदर्शी रुपमा नियुक्त गरी मुलुकको प्रतिष्ठा र मर्यादालाई अन्तराष्ट्रियस्तरसम्म चिनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.