जन सरोकार

कपाल काट्ने सीप सिक्दै म्याग्दीका विद्यार्थी (भिडियोसहित)

विद्यालय शिक्षालाई सीपसंग जोडेर सिकाई र सीप संगसंगै लिएर जाने अभ्यासको थालनी भएसंगै शहरी क्षेत्रका मत्र होइन ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले पनि सीप सिकाउन थालेका छन् ।

यसै क्रममा म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ ।

विद्यालयका कक्षा ७ देखि १० सम्मका ३० जना विद्यार्थीहरु सहभागी तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिममा विद्यार्थीहरुलाई कागज काटेर कैँची चलाउन सुरु गरिएकोमा १० दिनको अवधिमा विद्यार्थीहरु कपाल काट्न सिपालु भैसकेका छन् ।

नियमित पठनपाठन पश्चात साँझको समयमा दैनिक दुई घण्टा कपाल काट्ने तालिम सिकेका विद्यार्थीहरुलाई अहिले विद्यालयकै विद्यार्थीहरुको कपाल काटेर अभ्यस्त गराउन थालिएको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो ।

यस विद्यालयले गत बर्ष विद्यार्थीहरुलाई नौमती पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको थियो । उक्त तालिममा सहभागी विद्यार्थीहरु बाजा बजाउन सिपालु भएका थिए । विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त उनीहरुका रुचि र क्षमताको पहिचान र दक्षता विकास गराउन विद्यालयले सिपमुलक कार्यक्रमहरुलाई अघि बढाएको प्रअ हमालले जानकारी दिनुभयो ।

आगामी बर्ष विद्यालयले व्युटिसियन तालिम दिने तयारी गरेको छ । बेनी नगरपालिकाभित्र रहेका १६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्नका लागि चालु आर्थिक बर्षमा रु १÷१ लाखका दरले बजेट उपलब्ध गराएको छ ।

म्याग्दीको स्थानीय बजारमा कपाल काट्ने पेसामा अधिकाँश भारतीय नागरिकहरु संलग्न छन् । आकर्षक आम्दानी हुने भएपनि यो पेशामा स्थानीय जनशक्ति नभएको अवस्थामा विद्यालयले सञ्चालन गरेको तालिमले भविश्यमा स्थानीयले नै कपाल काट्ने पेसा अंगालेर स्वरोजगार बन्ने अवसर पाउने नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.