पैसा तिरेर कोरोना बिरुद्धको खोप नलगाउन आव्हान
शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौं
सरकारले निजी क्षेत्रलाई खोप लगाउने अनुमति नदिएको भए पनि निजी क्षेत्रबाट शुल्क लिएर खोप लगाउन थालिएको सूचना बाहिरिएपछि सरकारले शुल्क तिरेर खोप नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आह्वान समेत गर्नुभयो ।
मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोध समेत गरेको छ । मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गर्ने जनाएको छ ।
मन्त्रालयको सूचनामा भनिएको छ– “सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ । त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौं ।”
नेपालमा अहिलेसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ । कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ । यही असार २२ गतेबाट पुनः ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदै छ ।
प्रतिक्रिया राख्नुहोस्