अर्थ

एक हजार मेगावाटसम्म विद्युत खेर जाने खतरा

भारतसंग १० वर्षमा १० हजार मेघगावाट विद्युत व्यापार सम्झौता भएर इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हाँसिल भएको चर्चा गरिए पनि नेपालमा भने विद्युत नै खेर गैरहेको छ ।

निजी क्षेत्रका ऊर्जा उत्पादकले विभिन्न ३० जलविद्युत् आयोजनाको करिब पाँच सय मेगावाट विद्यत् खेर जान थालेको भन्दै गुनासो गरेका हुन् । उनीहरुले यो वर्ष एक हजार मेगावाटसम्म खेर जाने खतरा समेत औंल्याएका छन् ।

गत सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानमा भएको छलफलमा ऊर्जा उत्पादकहरूले नेपाल विद्युत् प्राधिकरणले ३० जलविद्युत् आयोजनालाई आफ्नो क्षमताको आधा मात्रै विद्युत् उत्पादन गर्न बाध्य पारेको र यसबाट पाँच सय मेगावाट उत्पादन बन्द गराइएको आरोपसमेत लगाएका छन् ।

बर्सातसँग खोलामा पानीको बहाव बढेको र त्यसकै कारण जलप्रवाही आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन थालेसँगै प्रणालीमा विद्युत् अधिक हुन थालेपछि प्राधिकरणले उत्पादन घटाउन भनेको उनीहरूको आरोप छ ।

प्राधिकरणले बढी भएको विद्युत् भारत निर्यात गर्ने भने पनि हालसम्म ४५२ मेगावाट मात्र आइआइएक्समा निर्यातको अनुमति पाएको छ । यो वर्ष करिब आठ सय मेगावाट विद्युत जडित क्षमता थप भएको तर भारत निर्यात भने बढ्न सकेको छैन ।

आन्तरिक खपत सामान्य बढे पनि सबै खपत हुनसक्ने अवस्था अझै नबनिसकेकाले यो वर्ष एक हजार मेगावाटसम्म खेर जाने खतरा रहेको औँल्याइँदै आएको छ ।

छलफलमा इप्पानका अध्यक्ष गणेश कार्कीले प्राधिकरणले टेक अर पे भनेर विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरिसकेपछि आयोजना बन्द भए पनि त्यसको पैसा दिनुपर्ने माग गर्नुभएको थियो ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले ४० लाख सर्वसाधारण लगानीकर्ता र सबै बैङ्कको लगानी रहेको यो क्षेत्रलाई खेलाँचीका रूपमा लिएको आरोप लगाउनुभयो ।

ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले विद्युत् बिक्री गर्न नसक्ने अवस्थामा प्राधिकरणले निजी क्षेत्रका मात्रै आयोजना बन्द गराउने नभई आफ्ना आयोजना पनि बन्द गर्नुपर्ने औँल्याउनुभयो ।

छलफलमा सहभागी प्रवर्धक सुजन पौडेलले हिउँदमा १५ प्रतिशत क्षमतामा चलेका आयोजनालाई बर्सातमा २० र २२ प्रतिशतभन्दा बढी क्षमतामा चलाउन विद्युत् प्राधिकरणले नदिएको आरोप लगाउनुभयो ।

इप्पानले गरेको छलफलमा लोड घटाउन बाध्य पारिएका आयोजनाको तथ्याङ्क सङ्कलन गरेर प्रतिवेदन तयार पार्न इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको इप्पानले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.