राजनीति

‘हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री हितबहादुर तामाङले हिमाल आरोहणले विदेशी मुद्रा आयआर्जनमा सहयोग पुगेको बताउनुभएको छ । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले वसन्त ऋतुमा हिमाल आरोहणका लागि गएका आरोहीलाई ‘बाटो खोल्ने तथा डोरी टाँग्ने आरोही’को सम्मानका लागि शुक्रबार आयोजित कार्यक्रममा उहाँले नेपालको अर्थतन्त्रको माध्यम हिमाल आरोहणसमेत भएको बताउनुभयो ।

पर्यटनमन्त्री

“आफ्नो जीवन जोखिममा राखेर वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से तथा शरद् ऋतुमा मनास्लु, अमादब्लम एवम् हिमलुङ हिमालमा डोरी टाँग्ने तथा बाटो खोल्ने काम गरेर आरोहीलाई सहजता प्रदान गर्नेप्रति सम्मान व्यक्त गर्दछु,” मन्त्री तामाङले भन्नुभयो ।

मन्त्री तामाङले चोयु हिमाल नेपालमा भए पनि उत्तर चीनतर्फबाट मात्र चढ्ने गरेकामा यस वर्षदेखि नेपालबाटै चढ्ने वातावरण मिलाएको भन्दै आरोहीलाई धन्यवाद दिनुभयो । वर्तमान ऐन, कानुन, नीतिनियममा रहेर पर्वतारोहण सञ्चालनमा सङ्घ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

“साहसिक पर्यटनको माध्यम हिमाल आरोहण हो, यसमा हिमाली क्षेत्र र शेर्पा जातिको विशेष योगदान रहँदै आएको छ, यसमा राज्यले गौरव गर्दछ,” मन्त्री तामाङले भन्नुभयो । आन्तरिक तथा बाह्य आरोहीलाई सुरक्षित आरोहण गराउने कामलाई सरकारले सहयोग गर्ने उहाँको भनाइ छ ।

मन्त्री तामाङले जलवायु परिवर्तनका कारण हिमाल पग्लने तथा हिमताल पग्लने समस्याले हिमाल आरोहणमा चुनौती थपिँदै गएको बताउनुभयो । उहाँले सरोकारवाला निकायसँग छलफल गरेर पर्यटन ऐनलाई चाँडो ल्याउन सरकार लागिरहेको उल्लेख गर्नुभयो ।

पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीले हिमालमा बाटो खोल्ने तथा डोरी टाँग्ने कार्यलाई दीर्घकालसम्म सङ्घलाई सञ्चालन गर्न अनुमति दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपालको पर्वतीय पर्यटनको आरोहण अभियानलाई सुरक्षित एवम् भरपर्दो बनाई विश्वसनीयतापूर्वक सञ्चालन गर्न डोरी टाँग्ने कार्यसम्बन्धी एक कार्यविधि बनाई लागू गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पराजुलीले हिमालमा फोहोरमैला व्यवस्थापनका लागि आरोहीबाट रकम सङ्कलन गरी फोहोरमैला व्यवस्थापन कोष खडा गर्नुपर्ने, नेपाल सरकारलाई तिर्ने हिमाल दस्तुरमा कहीँ भ्याट लाग्ने र कहीँ नलाग्ने मनोमानीलाई स्पष्ट धारणा बनाउन आग्रह गर्नुभयो । उहाँले हवाई टिकटमा लगाएको भ्याटसमेत हटाउन मन्त्री तामाङको ध्यानाकर्षण गराउनुभयो ।

सन् २०२४ को वसन्त ऋतुमा पर्वतारोहण गतिविधि सञ्चालनबापत राज्यकोषमा रु ६८ करोडभन्दा बढी राजस्व सङ्कलन भएको अध्यक्ष पराजुलीले बताउनुभयो । सोही अवसरमा वसन्त ऋतुमा हिमाल आरोहणका लागि गएका आरोहीलाई बाटो खोल्ने तथा डोरी टाँग्ने आरोहीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.