राजनीति

उपभोक्तामैत्री कानुन आवश्यक : मन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यकता रहेको बताउनुभएको छ ।

मन्त्री गिरी

गृहजिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्ने गरी ऐन संशोधनको आवश्यकता देखिएको बताउनुभयो ।

स्वच्छ खानेपानी पाउनु नागरिकको मौलिक हक भएको बताउँदै उहाँले सबै नागरिकलाई सहज रूपमा खानेपानीको पुहँच पुर्याउन सरकार लागिरहेको बताउनुभयो । उहाँले पुराना योजनालाई व्यवस्थित गर्नुका साथै नयाँ योजनाहरूलाई विस्तार गरेर हरेक नागरिकको घरघरमा धारा विस्तार गर्ने योजना सरकारले ल्याएको बताउनुभयो ।

मन्त्री गिरीले खानेपानीका स्रोतहरु सुक्दै जान थालेको अवस्थामा नयाँ स्रोतहरू खोजेर एकीकृत रूपमा आयोजना सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि नागरिकले खानेपानीका लागि ठूलो धनराशि खर्चिनुपरेको, गरिब समुदायले धारा जडान गर्नै नसक्ने अवस्था आएको बताउँदै यसको अन्त्य गरिनुपर्ने बताउनुभयो । उपभोक्तालाई शून्य लागतमा राज्यले पानी उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

मन्त्री गिरीले सदरमुकाम रहेको कुश्मा नगरपालिकामा बृहद् खानेपानी योजना सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि तीनै तहका सरकारबीच साझेदारी गर्न सुझाव दिनुभयो । कम्तीमा रु दुई अर्ब बराबरको योजना निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा मन्त्री गिरीले बदमासी गर्ने सहकारी सञ्चालकलाई कारबाहीको दायरमा ल्याउनैपर्ने बताउनुभयो । ऋण लिएर नतिर्नेहरूलाई जसरी बैंकले कालोसूचीमा राख्छ त्यसैगरी सहकारी ठगहरूलाई पनि कालोसूचीमा राखेर राज्यका सेवासुविधाबाट बञ्चित गर्नुपर्ने उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

मन्त्री गिरीले मुलुकमा देखिएको अहिले अवस्थामा छिट्टै सुधार हुने बताउनुभयो । मुलुकको आर्थिक अवस्था विस्तारै लयमा आउँदै गरेको बताउँदै छिट्टै नेपालीहरूले सुखको श्वास फेर्न पाउने दाबीसमेत गर्नुभएको छ । उहाँले खानेपानीजस्ता पवित्र संस्थामा राजनीति गर्न नहुने बताउनुभयो । नागरिकलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले खोलिएका यस्ता संस्थामा सर्वसम्मत रूपमा सक्षम नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बढ्दो जनसङ्ख्याको चापसँगै खानेपानीको अभाव पनि थपिँदै जाने बताउँदै नयाँ स्रोतहरू खोजी गरेर नागरिकलाई पानीको सहजता प्रदान गर्न आग्रह गर्नुभयो । कुश्माबजारमा वितरित पानी स्वच्छ रहेको बताउँदै यसलाई कायम राख्न उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.