खेलविविध

फ्रान्समा हुने पारालिम्पिकमा भीमबहादुरले खेल्ने

पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने ‘पेरिस २०२४ पारालिम्पिक’मा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पारालिम्पिकमा भीमबहादुरले खेल्ने

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी सङ्घ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । भीमले पुरुष ५० मिटर ‘फ्रि स्टाइल’मा प्रतिस्पर्धा गर्ने छन् । यो स्पर्धामा उनकै नाममा ३५ दशमलव ०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

गोरखाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो खेल जीवनमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

पछिल्लोपटक उनले खेलेको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारालिम्पिक छनोटको आधारसमेत रहेको थियो । सिङ्गापुरमा गत मे १७ देखि १९ तारिखसम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर ‘फ्रि स्टाइल’मा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

भीमले पारालिम्पिकका लागि कालोपुलस्थित ‘वेस्ट भेन्यु’मा तयारी प्रशिक्षण गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । भीमले पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुशी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए ।

“पारालिम्पिक जस्तो ठूलो प्रतियोगितामा छनोट भएकोमा एकदमै खुशी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिएँ । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ,” भीमले भने । अध्यक्ष श्रेष्ठले भीमको सहभागिताका लागि सङ्घले पनि धेरै पहल गरेको बताए । भीमसहित पेरिस पारालिम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकमा स्थान सुरक्षित गरेकी हुन् । भरतले ‘वाइल्ड कार्ड’ पाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.