संस्कृति

तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।

यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ ।

बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

“करिब तीन सय वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाडौँमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिका रुपमा विश्वसामु चिनाउने उद्देश्य छ” ।

नगर उपप्रमुख खड्काले भन्नुभयो, “साबिकको धौलागिरि अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हिँडेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङबजार भित्र्याउने हाम्रो योजना हो ।”

तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।

हनुमान नाँच संरक्षण, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा नगरपालिकाले बजेट विनियोजन गरेकोे उहाँले जानकारी दिनुभयो । उहाँले विश्वलाई उक्त हनुमान नाच चिनाउनका लागि विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक कामको थालनी गरेको खड्काले बताउनुभयो ।

मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको जनाइएको छ । एकै पटक १४ जोडीले नाच्ने भएकाले उक्त नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न उक्त नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख बढी भक्तजन आउने गरेका छन् ।

ती भक्तजनलाई बागलुङमा टिकाउने खालको योजनाअनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नति, पर्यटकीयस्थलमा क्युआरकोड राख्ने लगायतका काम भइरहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘बागलुङ घुम्न जाऔँ’ कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले बागलुङ कालिका मन्दिर, पञ्चकोट, भैरवस्थान, शालग्राम सङ्ग्रहालयलगायत ११ स्थानमा १२ भाषामा अध्ययन गर्न सक्ने गरी ‘क्युआर कोड’ मार्फत जानकारी दिने व्यवस्था गरिसकेको श्रेष्ठको भनाइ छ ।

नगरपालिकाले जिल्लाको मुख्य प्रवेशद्वारलाई सौन्दर्यीकरण गर्ने, मालढुङ्गादेखि उपल्लाचौरसम्मको भिरमा लहरा फूल लगाउने र पहरामा कलासंस्कृति झल्कने खालको आकृति निर्माण गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.