राजनीति

पोखरा महानगरबिरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी

नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पताललाई दिएको करोडौं राजश्व छुटको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै विवरण पारदर्शी गर्न सुझाव दिएको छ ।

बुधबार विहान एमाले महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी हाल मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप प्रा.लि.को भवनबारे पोखरा महानगरपालिकाको काम कारबाहीहरु अपारदर्शी रुपमा सम्पादन हुँदै जाँदा व्यवस्थाप्रति नै बितृष्णा फैलाउन मलजल गरेको आभाष भएको बताउनुभयो ।

उहाँले आगामी दिनमा अपारदर्शी निर्णयका श्रृंखलाहरु नरोकिएमा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

पत्रकार सम्मेलनमा आचार्यले राजश्व परामर्श समितिको सिफारिसमा छुट गरिएको भनी भ्रम सिर्जना गर्न खोजिएको, बैठकको निर्णय लेखनमा त्रुटी भएको महानगर प्रमुख आफैंले स्वीकार गरेको पनि बताउनुभयो ।

विधिसम्मत रुपमा प्रस्ताव पेश गर्ने, छलफल गरी निर्णय भएका विषय मात्रै बैठकको निर्णय पुस्तिकामा लेख्नुपर्ने, स्वार्थ समूहको इशारामा विवादास्पद निर्णय लेखिनुले पोखरा महानगरपालिका भ्रष्टाचारको दलदलमा फसेको आचार्यको आरोप छ ।

मणिपाललाई राजस्व छुट दिएको विषय नगर सभामासमेत चर्को आलोचना भएपछि त्यसबाट बच्न पोखरा महानगरपालिकाको १५ औैं नगरसभाबाट महानगर प्रमुख धनराज आचार्यले मणिपाल शिक्षण अस्पताललाई दिएको नक्सा पास सम्पन्न प्रमाण पत्र बदर गर्ने र छानबिन समिति गठन गर्ने भनिएकोमा महानगरका प्रवक्ता र सूचना अधिकारीले समितिको संयोजकमा नाम फरक फरक दिएका र कस्को संयोजकत्वमा छानबिन समिति बनेको भन्ने कुरा बिरोधाभास भएको आचार्यले बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले महानगरको विकास र समृद्धिमा अवरोध पुर्याउने, महानगरवासीको हित विपरित पोखरा महानगरपालिका बैठकमा बिनाएजेण्डा निर्णयका नाममा जबरजस्त घुसाइएको आरोप समेत लगाउनुभएको छ ।

उहाँले मणिपाल शिक्षण अस्पताललाई नक्सा पास सम्बन्धमा राजश्व छुट र किर्ते निर्णय लगायतका भएका काम बारबाहीको सक्कल फाईलसहितका कागजात छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन, कार्यपालिका बैठक लाईभ गर्न र हिसाब नमिले विषय स्पष्ट पार्न महानगर प्रमुख धनराज आचार्य लगायत सबैमा माग गर्नुभएको छ ।

(पोखराबाट रामजी प्रसाद लम्साल)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.