राजनीति

मुलुक दोस्रो युक्रेन बन्ने खतरामा पुग्यो : देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेका कारण नेपाल फेरि द्वन्द्वमा फस्ने र मुलुक दोस्रो युक्रेन बन्ने खतरा बढेको दावी गर्नुभएको छ ।

बुधबार काठमाडौंको एक कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको र यसले मुलुकलाई द्वन्द्वमा फसाउनसक्ने भन्दै सो कुरा बताउनुभएको हो ।

गुरुङले कांग्रेस र एमालेले मध्यरातमा षड्यन्त्रमूलक ढंगबाट संविधान संशोधनको सहमति गरेर उपलब्धिलाई उल्टाउँदै २०४७ सालको संविधान फर्काउन लागेको हो त होइन भन्ने गम्भीर प्रश्न उठेको समेत बताउनुभयो ।

गुरुङले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने पनि स्पष्ट पार्नुभयो ।

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत माग्ने र विश्वासको मत नपाएपछि सोही धाराको (३) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुने दाबी गर्दै गुरुङले कोशी सरकार गठनमा सर्वोच्चले गरेको व्यख्या यहाँ मेल नखाने समेत दाबी गर्नुभयो ।

गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र एमाले नेता रामबहादुर थापाका छोरा प्रतिक पक्राउ परेपछि कांग्रेस र एमाले रातारात एक ठाउँमा आएको दावी समेत गर्नुभयो ।

उहाँको दावी थियो, “यो बीचमा भएको दुईवटा घटना हुन्, पहिलो टीआरसी र अर्को नक्कली भुटानी प्रकरणमा मुछिएर फरार रहेका झा र थापा पक्राउ । यदि झा र थापा पक्राउसँगै लहरो तान्दा पहरो आउने डरले एमाले र कांग्रेस एकठाउँमा आएका हुन सक्छन् नत्र त टीआरसी टुंग्याउनेमा तीनै दलको फरक मत छैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.