राजनीति

प्रधानमन्त्री प्रचण्डद्वारा ‘रोड्स टू भ्याली’ विमोचन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सवारी साधन भित्र्याउने सरदार प्रित सिंहका बारेमा लेखिएको पुस्तक ‘रोड्स टू भ्याली’ पुस्तकको सोमबार सार्वजनिक गर्नुभयो । सिंहको ८८औँ जन्मदिनका अवसरमा सो पुस्तक सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

रोड्स टू भ्याली

सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको यातायात क्षेत्र र सवारी साधन भित्र्याउन सिंहले खेल्नुभएको भूमिका लगायतका विषय समेटिएको सो पुस्तक विमोचन गर्नुभएको हो । सो पुस्तक सिंहको छोरी किरणदीप सिन्धुले लेख्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सिंहको योगदान यातायात क्षेत्रमा मात्रै नभई सामाजिक सेवामा, शिक्षाको क्षेत्रमा पनि अतुलनीय रहेको बताउनुभयो ।

नेपालमा रहेका शिख समुदायको संरक्षण र प्रवद्र्धनमा पनि उत्तिकै मेहनत गरेको भन्दै प्रधानमन्त्री दाहालले सिंहको योगदानको उच्च प्रशंसा गर्नुभयो । आफू पनि धेरै पटक कुपण्डोलमा रहेको गुरुद्वारामा गएको उहाँले स्मरण गर्नुभयो । नेपाल–भारत बीचको सम्बन्धलाई जनताजनता बीचमा विस्तार गर्न सिंहको योगदान विशिष्ट र ऐतिहासिक रहेको बताउँदै उहाँले राजनीतिमा पनि उत्तिकै रुचि राख्ने व्यक्तिका रुपमा सिंहलाई चित्रण गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सिंहको विचारका बारेमा आफूलाई राम्ररी थाहा भएको उल्लेख गर्दै भन्नुभयो, “राजनीति सफा भयो भने मात्रै देश विकास हुन्छ भन्ने धारणा राख्नुहुने उहाँलाई शान्ति प्रक्रियामा आएपछि नजिकबाट एक अर्कालाई चिन्ने बुझ्ने प्रयास गरेका थियौँ । मेरो परिवार नै उहाँको सहयोगप्रति नतमस्तक छ ।” उहाँको जीवनमा आधारित उहाँकै छोरीले तयार पारेको यो पुस्तक नेपाल भारत सम्बन्धबारे बुझ्न थप सहयोगी बन्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

नेपालमा सार्वजनिक यातायात सुरु गर्ने उद्देश्यका साथ भारतको जम्मुबाट आएका शिख समुदायका प्रितम सिंहको योगदान अतुलनीय रहेको छ । नेपाल पब्लिक मोटर सर्भिसका नाममा सिंहले नेपालमा यातायात सेवा सुरु गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सिंहले नेपालको सार्वजनकि यातायातमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो पुस्तकले सिंहको योगदानका बारेमा नेपालीलाई जानकारी गराउन सहयोगी हुने बताउनुभयो । उहाँले भूकम्पको समयमा गुरुद्वाराले पुर्याएको योगदान नेपालीमाझ अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा व्यावसायिक यातायातको सुरुआत गर्ने महत्वपूर्ण व्यक्तिका बारेमा पुस्तक प्रकाशित भएकामा प्रसन्नता व्यक्त गर्नुभयो ।

काठमाडौँमा रहेको मोर्डन इन्डियन स्कुल स्थापना गरी शिक्षाको क्षेत्रमा पनि उत्तिकै सहयोग गरेकामा राजदूत श्रीवास्तवले सिंहको योगदान अतुलनीय रहेको बताउनुभयो । नेपाल र भारतबीच जनस्तरको सम्बन्ध विस्तारमा सिंहले गर्नुभएको योगदान अतुलनीय र महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.