गण्डकीप्रदेश

कास्कीका विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी

कास्की जिल्लाको विपन्न बस्तीमा लागू गरिएको मुख्यमन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी भएको पाइएको छ । सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अवस्था निरीक्षणका क्रममा लाभग्राहीहरुले सो धारणा राखेका हुन् ।

कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्दै संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफलरूपमा कार्यान्वयन भएकोमा खुशी व्यक्त गर्नुभयो ।

सो क्रममा पौडेलले विपन्नहरूको आय आर्जनमा जग बसाउन ल्याइएको कार्यक्रमबाट पूर्ण लाभ लिदै भविष्यमा व्यवसाय बिस्तार हुने गरी व्यावसायिक कृषि प्रणाली अवलम्बन गर्ने पूर्वाधार निर्माणका लागि निरन्तर प्रयासरत हुन स्थानीय कृषकहरूलाइ आग्रह गर्नुभयो।

कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कुल लागतको ९० प्रतिशत प्रदेश सरकार र बाँकी दश प्रतिशत रकम लाभग्राही स्वयंले ब्यहोर्ने गरी संचालित कार्यक्रम परिणामउन्मूख र सफल देखिनुले अब समृद्धिका दिन धेरै टाढा नभएको आफूहरूलार्इ महसुस भएको बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारीले रूपाको इश्लामिक कृषि समूह र मादीका गाउँपालिका वडा न ७ स्थित थाक गाउँमा करिब बाईस लाख रूपैयाँको लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा बितरण गरिएको जानकारी दिनुभयो ।

रूपा गाउँपालिकाका मिया गाउँका स्थानीय अगुवा तथा समाजसेवी सवाबक्स मियाले विपन्न वर्गको उत्थानका लागि सहयोगी कार्यक्रम ल्याएकोमा प्रदेश सरकारलाई आभार प्रकट गर्दै यी र यस्ता जनहितकारी कार्यले नै नेपालमा संघीयताको औचित्य पुष्टि हुँदै जाने उल्लेख गर्नुभयो ।

त्यस्तै मादी थाकवस्तीका स्थानीय लाभग्राही कृषक थाक विपन्न वर्ग तरकारी उत्पादन कृषि समूहकी अध्यक्ष पदम कुमारी कोइरालाले आफूहरूको पीडा बुझ्ने प्रदेश सरकार भएको अनुभूति आफूहरूलार्इ भएको भन्दै यो असरको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्तर्गत विपन्न जनताको बसोबास भएको बस्तीको पहिचान गरी गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र मार्फत जनताको आयस्तरमा सुधार ल्याउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लामा सो कार्यक्रम संचालित छ ।

जस अन्तर्गत कास्की जिल्लामा रूपा गाउँपालिका वडा न ६ को मिया गाउँस्थित इश्लामिक कृषि समूह र मादीका गाउँपालिका वडा न ७ स्थित थाक गाउँ छनोटमा परेका थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.