राजनीति

संविधान संशोधनमा नेता केसीको जोड

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधन आवश्यक भएको बताउनुभएको छ ।

लिभर फाउन्डेसन नेपालद्वारा बुधबार जनकपुरधाममा आयोजित लिभर स्वास्थ्यसम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा नेता केसीले संविधान संशोधन अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका नेता केसीले विसं २०७२ मा जारी संविधानले जनताको सर्वोच्चताको प्रतिनिधित्व गरेको धारणा राख्नुभयो । सो संविधान असफल भएमा दुर्भाग्यपूर्ण अवस्था आउने उहाँको भनाइ छ । त्यस्तो अवस्था आउन नदिन संविधान संशोधन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

केसीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको पछिल्लो सहमतिले देशलाई स्थिर सरकार दिने आशा देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी सरकारले आर्थिक सुधारको गतिविधिलाई सामूहिक मिसनका रुपमा लिएर जानुपर्छ ।” नेता केसीले संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदा संसद्मा प्रतिपक्षको भूमिका कमजोर हुनसक्ने भएकाले प्रतिपक्षी दलहरुले प्रतिपक्षको सशक्त हैसियतलाई जीवन्त राख्न सक्नुपर्ने बताउनुभयो ।

कार्यशालामा डा इम्तिहान अहमद, डा सञ्जयकुमार यादव, डा शाहजहा खातुन, हरि लम्साल र सल्ला अधिकारीले कलेजो स्वास्थ्यसम्बन्धि प्रस्तुति गर्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेशका विभिन्न पालिकाका प्रमुखहरु र स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो । लिभर फाउन्डेसन नेपालका अध्यक्ष उमेशजङ्ग रायमाझीको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.