जन सरोकार

६० सालमा माओवादीद्वारा अपहरणमा परेका खड्काले २० वर्षपछि श्रीमती भेटेपछि

जनयुद्धताका २०६० साल मङ्सिरमा माओवादीबाट अपहरण गरेपछि बेपत्ता भएका खोटाङ जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका उदयबहादुर खड्का हालसम्म वेपत्ताको सूचीमा हुनुहुन्थ्यो ।

अपरहणपछि वेपत्ता खड्का जीवित रहेको वा नरहेको केही पत्तो थिएन तर, अपहरण भएको २० वर्षपछि आफ्नी श्रीमतीसंग भेट्नुभयो । उहाँ र उहाँकी श्रीमती पुण्यमाया बस्नेत (खड्का)को असार १७ गते भेट भएको हो।

हप्ता दिनअघि भारतको मेघालय सिलोङमा फेला परेका उदयबहादुरलाई असार १६ गते विराटनगर ल्याइएको थियो। विराटनगर आएपछि आफ्नै दाजु रेशमबहादुर खड्काको घरमा रहनुभएका उदयबहादुरलाई भेट्न श्रीमती विराटनगर पुग्नुभएको हो ।

अपहरणमा परे यता परिवारको सम्पर्कमा नरहेका उदयबहादुरलाई भोजपुर साल्पासिलिछो गाउँपालिका घर भई हाल मेघालयमा काम गर्दै बसिरहेका मिलन राईले जङ्गलछेउमा भेटेर गत असार १० गते फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्नुभएको थियो।

अपहरणपछि उहाँलाई नेकपा माओवादीका कार्यकर्ताले ‘कहाँ छाडे र उहाँ कसरी सिलोङ पुग्नुभयो’ भन्ने विवरण खुल्न बाँकी नै छ।

अस्वस्थ अवस्थामा सिलोङमा भेटिएका उदयबहादुरलाई छिमेकी एवम् कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र बिष्टको पहलमा असार १८ गते कोसी अस्पताल विराटनगरको इमर्जेन्सी वार्डमा भर्ना गरिएको छ।

उहाँ निमोनिया, रातभर खोकी लाग्ने र दिसापिसाब नरोकिने समस्याबाट पीडित हुनुहुन्छ। सामान्य आर्थिक अवस्थाका उदयबहादुर र पुजनका दुई छोरा र दुई छोरी थिए ।

उदयबहादुर अपहरणमा पर्दा कान्छो छोरा सुरज ७ महिनाको मात्रै थिए । चार सन्तानमध्ये जेठो छोरो अनिलको चार वर्षअघि मृत्यु भइसकेको छ। छोरी सिर्जना र सुशीलाले आ–आफ्नै घरजम बसाइसकेका छन्।

कान्छो सुरज वैदेशिक रोजगारीका सिलसिलामा चार महिनाअघि मात्रै दुबई पुगेका छन् । विवाह गरेर काठ्माडौं जम्बोडाँडामा बसिरहेका जेठो अनिल २०७६ वैशाख १ गते झुण्डिएको अवस्थामा शङ्कास्पद मृत फेला परेका थिए।

मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि घरेलु हिंसा गरेको उजुरीका आधारमा उदयबहादुरलाई तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले हात बाँधेर घरबाट लगेका थिए।

अपहरणअघि माओवादीका कार्यकर्ताले उदयबहादुरलाई चौतारोमा लगेर निर्घात कुटपिट गर्दै ‘सुध्रिन’ चेतावनी दिएको थियो । श्रीमानको अत्तोपत्तो नभएपछि पुण्यमायालाई डेढ वर्षदेखि एकल महिलाको भत्ता दिने व्यवस्था मिलाइएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.