राजनीति

इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

नेपाल कम्युष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक काम इमान्दारी साथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष ओली

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हरेक काम अगाडि बढाउँदामात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो । विद्यार्थीले नयाँ कुरा सिक्ने, ज्ञान र सीप प्राप्त गर्नेतर्फ लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमताअनुसार अघि बढ्न विद्यार्थी र अभिभावकलाई सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले आफ्नो लक्ष्यप्राप्तिका लागि सधैँ इमान्दार भएर लाग्न आग्रह गर्दै जीवनमा कहिल्यै पनि घमण्ड गर्न नहुने बताउनुभयो । उहाँले अवसरको अभावमा धेरै विद्यार्थीको नतिजा राम्रो आउन नसकेको बताउँदै सरकारले यसमा ध्यान दिनु जरुरी छ भन्नुभयो ।

पार्टी उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीमा सामुदायिक र संस्थागत विद्यालयले कायम गरेको शैक्षिक गुणस्तरलाई थप उन्नत बनाउन सबै पक्षको संयुक्त प्रयास रहने बताउनुभयो । उहाँले रुपन्देही जिल्लालाई उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा क्षेत्रमा अनुकूल परिस्थिति निर्माण गरेर रोजगारीका अवसर सृजनाका साथै देशभित्रै उद्यमशीलताको विकासमा लाग्ने सङ्कल्पका साथ एमालेले मुलुकको नेतृत्व गर्ने अवस्था आएको बताउनुभयो ।

अनलाइन कक्षा सञ्चालन गर्ने
अध्यक्ष ओलीले यस वर्ष एसइईको  मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क  पढाइने बताउनुभयो ।

उहाँले आत्मविश्वासकासाथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई सुझाव दिनुभयो । अनलाइन कक्षामा अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, ऐच्छिक गणित अध्यापन गराइने उहाँले बताउनुभयो ।

अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएका रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित रामपुर माध्यमिक विद्यालयका कृत्रिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.