बिचार

शिक्षकलाई दलका कार्यकर्ता बनाएपछि यस्तै हो

एसइईको नतिजा सार्वजनिक भएसंगै यसमाथिको बहस व्यापक भैरहेको छ । शिक्षकले राम्रो नपढाएरै दशकयताकै सबभन्दा खराब नतिजा आएको भन्ने छ । अरु त अरु पूर्व प्रधानमन्त्री केपी ओलीले पनि त्यही भन्नुभयो ।

रुपन्देहमा आयोजित कार्यक्रममा ओलीले शिक्षकले राम्रो नपढाएर धेरै विद्यार्थी फेल भएको बताउँदै पुरक परीक्षा दिनेलाई आफूमार्फत अनलाइन ट्युसन पढाउने समेत बताउनुभयो ।

यहाँसम्म त ठिकै छ । तर, शिक्षकले राम्रो पढाएन भनेर आरोपित गर्नेले शिक्षकलाई राम्रोसंग पढाउनुपर्छ भनेर किन भन्न नसकेको ? शिक्षकलाई राज्यको तलब सुविधा खुवाएर राजनीतिक दलका कार्यकर्ता बनाएपछि कहाँबाट राम्रो पढाउँछन् ।

विद्यालय शिक्षा सुधारका लागि सबभन्दा पहिलो काम शिक्षकहरुलाई दलका कार्यकर्ता बन्न रोक्ने र विद्यालय व्यवस्थापन समितिमा समाज बुझेका, शिक्षा बुझेका व्यक्तिलाई प्रवेश गराउनैपर्छ । अन्यथा नतिजा योभन्दा राम्रो कहिल्यै आउँदैन ।

शिक्षकले राम्रो नपढाएर नतिजा खराब आयो भन्ने टिप्पणीसंगै शिक्षकलाई राजनीति गर्न किन दिइएको भन्ने प्रश्न पनि उठेको छ । यस विषयमा अनेक तर्कहरु आएका छन् ।

शिक्षकले राजनीति गर्न हुने कि नहुने एउटा पक्ष र शिक्षक राजनीतिक दलका कार्यकर्ता बन्न हुने कि नहुने अर्को पक्ष रहेको छ । केपी ओलीको अभिव्यक्तिपछि शिक्षामन्त्री सुमना श्रेष्ठले कडै जवाफ दिएपछि यसमा पनि दोहोरी चलेको छ ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ– “आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाउँदा एसइईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनितिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ?”

सुमनाको यो टिप्पणीपछि अनेक प्रतिक्रिया आएका छन् । कतिपयले शिक्षक ज्ञानको भण्डार हो र उनीहरुमा राजनीकि चेत हुनुपर्छ भनेका छन् । यो सबभन्दा महत्वपूर्ण कुरा हो कि शिक्षकमा राजनीतिक चेत हुनुपर्छ । शिक्षकमा मात्र होइन हरेक नागरिकमा राजनीतिक चेत हुनुपर्छ । तर, राजनीतिक दलका कार्यकर्ता बन्नु हुँदैन ।

राजनीतिक चेत हुनु र दलका कार्यकर्ता हुनु फरक कुरा हो । राजनीतिक चेत भएका व्यक्तिले असल राजनीति सिकाउँछन् । राजनीति सिकाउने भनेको दलका कार्यकर्ता बनाउने, दलका घोषणापत्र घोकाउने, दलका नेताको चाकरी गर्ने, दलका नेताका हरेक गलत कामलाई पनि असल भन्ने होइन ।

राजनीतिक चेत भनेको समाज विकासको सबभन्दा महत्वपूर्ण अध्याय हो । राजनीति नै सबै नीतिहरुको वाहक भएकाले राजनीति बुझ्नैपर्छ तर, राजनीति बुझ्नु भनेको कुनै दल विशेषको कार्यकर्ता बन्नु होइन ।

पेशा–व्यवसायीहरुमा राजनीतिक चेत हुनु उनीहरुको काम गर्ने शैली र जिम्मेवारीमा नवीनता ल्याउनु हो, देश र समाजप्रति प्रतिबद्ध बनाउनु हो । तर, दलका कार्यकर्ता बन्नु भनेको सोही दल, दलका केही नेताका अघि–पछि लागेर आफ्नो स्वार्थ पूरा गर्नु मात्र हो । अहिलेसम्म देखिएको यही हो ।

शिक्षक, कर्मचारी, कानुन व्यवसायी, प्राध्यापक सबै राजनीतिक चेत भएर दलका कार्यकर्ता बनेका हुन् कि नालायक भएर आफ्नो जागीर जोगाउन दलका भरिया बनेका हुन् ?

राजनीतिक दलहरुले राजनीतिक चेतना जगाउनै चाहेका छैनन् । अहिले जस्तो राजनीति चलिरहेको छ राजनीतिक चेत भएका व्यक्तिले कसै गरी पनि स्वीकार्न सक्दैनन् । तर, राजनीतिक दलका कार्यकर्ताले सबै सहज मान्छन्, देशमा विकासै विकास भएको देख्छन्, जनताले सुखै मात्र पाएको मान्छन् र आफ्नो पोल्टो भर्छन् ।

नेपालमा राजनीतिक दलको कार्यकर्ता नबने आफ्नो अस्तित्व नै नरहने भ्रम सिर्जना गरिएको छ र कोही स्वतन्त्र भएर काम गर्न खोजे त्यसलाई खेदो गरिन्छ । काठमाडौं महानगरपालिकामा अहिले जे भैरहेको छ त्यो नै काफी र जवर्जस्त उदाहरण हो ।

दुई वर्षसम्म मेयर बालेन साहको कदमलाई साथ दिंदै आएका वडाध्यक्षहरु पार्टीको निर्देशनपछि बालेलाई असफल पार्र्न लागिपरे । दलहरुले बालेनको गति नरोके आफूहरु पछारिने भय राख्दै जनताको विकासको चाहनालाई नै मार्न खोजे ।

वडाध्यक्षहरु राजनीतिक दलका कार्यकर्ता नै भएर चुनाव जितेका हुन् । तर, पदमा पुगेपछि दलको निर्देशन मान्ने कि जनताको आकांक्षा पूरा गर्ने ? कामपाको नगरसभामा एक वडाध्यक्षले मुखै खोलेर भने कि जनता घोषणापत्र अनुसार किन नगरेको भन्छन्, जनताको काम गरौं पार्टीले रोक्छ । पार्टीले नसोधी किन गरेको भन्छ ? अब हामी के गर्ने ?

ती वडाध्यक्षको भनाईबाटै थाहा हुन्छ यो देशमा विकास बिरोधी को हो भन्ने ? दलहरुले समाजको छिद्रछिद्रसम्म राजनीति घुसाएको र हरेक अंगलाई राजनीतिक कार्यकर्ता र भर्तीकेन्द्र बनाएको परिणाम हो । काम गर्न खोज्नेहरुलाई असफल नबनाए आफूूहरुलाई जनताले मत नदिने र काम गरे अर्को चुनावमा भोट माग्ने वहाना नहुने गलत अभ्यासमा लागेर विकासको गति रोक्नेहरुले सबै कुरा जानेर पनि स्वार्थका कारण समाज अघि बढ्न दिएका छैनन् ।

अनि राजनीतिक दलका कार्यकर्ता बनेर लाभ लिइरहेकाहरु यसैबाट खुसी छन् । उनीहरु आफू दलको कार्यकर्ता बन्नुलाई राजनीतिक चेतना र नागरिक अधिकार भन्छन् । तर, उनीहरुले नागरिक अधिकार प्रयोग गर्ने जनताको मौलिक अधिकारमाथि खेलवाड गरेको भने बिर्सन्छन् ।

शिक्षकहरुकै कुरा गर्दा झण्डै २ लाख शिक्षक प्रमुख तीन राजनीतिक दलका कार्यकर्ताका रुपमा आबद्ध छन् । एक अनुमान अनुसार नेपाली कांग्रेसमा ८० हजार, एमालेमा ७० हजार र माओवादीमा ५० हजार शिक्षक आबद्ध भएका छन् । यति ठूलो संख्यामा शिक्षकहरु राजनीतिक दलमा लागेपछि उनीहरुबाट समाजले के अपेक्षा गर्ला ?

यही भएर शिक्षकलाई राजनीतिक दलको कार्यकर्ता बन्न रोक्नुपर्छ भन्ने निर्वाचनन आयोगको निर्देशन लत्याउँदै शिक्षकलाई सदस्य नबनाए कसरी राजनीति गर्ने भन्ने उत्तर दिन्छन् । शिक्षकलाई राजनीतिक दलको भरिया र विद्यालयलाई विदेशीका लागि श्रमिक उत्पादन गर्ने कारखाना बनाएपछि देशको अवस्था यस्तै हुन्छ । यसैलाई राजनीतिक चेत भनेर कुतर्क गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.