जन सरोकार

नक्कली भुटानी शरणार्थी प्रकरण : झाको मोबाइल जाँचबाट खुल्ला थप रहस्य ?

अवैध रकम असुल्दै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने गिरोहका मुख्य मतियार मानिएका बेचन झालाई थुनामा राख्ने आदेश अदालतबाट पाएलगत्तै प्रहरीले उनको मोबाइल जाँच सुरु गरेको छ ।

नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेका झाबाट बरामद भएका दुई थान मोबाइल जाँचका लागि झाबाट बरामद भएका दुई थान मोबाइल डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाइएको छ ।

भारतबाट पक्राउ गरी स्थलमार्ग हुँदै काठमाडौं ल्याइएका झाविरुद्ध दोस्रो पटक बिहीबार मात्रै ५ दिनको म्याद थप भएको छ । एक साताअघि शुक्रबार पक्राउ परेका झाविरुद्ध पहिलो पटकका लागि ७ दिनको म्याद थप भएको थियो ।

परिसर काठमाडौंले डीएसपीको कमाण्डमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको छ । झाविरुद्ध संगठित ठगीको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई छ ।

प्रहरीले झासँग प्रारम्भिक सोधपुछ गरेको छ । यद्यपी झाले भुटानी शरणार्थी प्रकरणमा भएको ठगीबारे जानकार नभएको दाबी गर्दै आएका छन् । नेताहरूसँग भने चिनजान सम्बन्ध रहेको बताउने गरेको परिसरका एक अधिकारीले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै झा फरार थिए । तर उनको संलग्नता भने अनुसन्धानको अन्त्यतिर मात्रै खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

प्रकरणका मुख्य आरोपी मध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका थिए ।

त्यसै गरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि बयानमा बेचन झाको संलग्नता खुलाएका थिए । हाल पुर्पक्षमा रहेका सचिव पाण्डेले भनेका छन्, ‘मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’

३० जेठ २०७६ मा गृहमन्त्री बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो ।

पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदल बनेदेखि नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको थियो ।

उक्त कार्यदलको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । यो काम भने खाँणको पालमा भएको थियो । खाँणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

भुटानी शरणार्थी प्रकरणमा यसघि दुई वटा मुद्दा दायर भएकाले बेचन पक्राउपछिको अनुसन्धान तेस्रो रहेको छ । दुई पटक गरेर ३२ जनालाई प्रतिवादी बनाइएको थियो ।

पहिलो चरणमा १ सय १३ जना पीडितबाट परेका २८ वटा जाहेरीहरुको अनुसन्धान गरी २० जनालाई प्रतिवादी बनाउँदै १० जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यसबेला ३० जनाविरुद्ध २८ करोड, १ लाख ७४ हजार ५ सय बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।

बेचन र रामबहादुर थापा बादलका छोरा प्रतिक गत शुक्रबार पक्राउ परेपछि अझै ११ जना फरार रहेको परिसरले जनाएको छ ।

फरार हुनेमा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा ५० वर्षीय निरज राई, झापाको गौरादह नगरपालिका–१ का ३१ वर्षीय सुनिल बुढाथोकी, रौहतटको फतुहा हर्साह–९ का ४२ वर्षीय निरन्जनकुमार खरेल, मोरङको शनिश्चरे नगरपालिका–१० कि ४० वर्षीया बिनिता सावदेन लिम्बु, केशव दुलालकी श्रीमती दीपा हुमागाईं छन् ।

त्यसै गरी पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ का ६० वर्षीय मोहनराज राई, गोकुल थापा र उनकी श्रीमती रमा थापा, काठमाडौंको जितपुर फेदीका ३० वर्षीय राजेश अर्याल, मोरङको कानेपोखरी–५ का ३९ वर्षीय धिरेन राई र इटहरी उपमहानगरपालिका–४ घर भइ अमेरिका बस्दै आएका अशोक पोखरेल छन् ।

भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रतिवादी बनेका ३३ जनामध्ये २२ जना पक्राउ तथा अदालतमा उपस्थित भइसकेका छन् । जसमध्ये १० जना पुर्पक्षमा कारागारमा छन् । ७ जना धरौटीमा रिहा भएका छन् । चार जना साधारण तारेखमा रिहा भएर जेल बाहिरै छन् । एक जना बेचन झा अनुसन्धानका लागि हिरासतमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.