प्रधानमन्त्रीको राजिनामा माग देशलाई प्रतिगमनतिर लैजाने उद्देश्य : मोहन विक्रम सिंह
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह ३ पटक दिल्ली गएको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरेपछि प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजिनामा मागेको छ ।
एमालेले संसद अबरुद्ध गर्दै प्रधानमन्त्रीको राजिनामाको माग गरेर संसदलाई अवरुद्ध गर्ने कार्य वर्तमान सरकार ढालेर देशलाई प्रतिगमनतिर लैजाने उद्देश्य रहेको नेकपा (मसाल)ले ठहर गरेको छ ।
मसालका महामन्त्री मोहन विक्रम सिंहले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको राजिनामा मागेर संसद अबरुद्ध गर्नुलाई ने.क.पा.(मसाल)ले गलत ठहर गर्दै बिरोध गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ– “एमालेको त्यस प्रकारको कार्वाहीको पछाडि अहिले कायम भएको सरकारलाई विघटन गरेर देशलाई प्रतिगमनतिर लैजाने उद्देश्यले काम गरेको कुरा प्रष्ट छ र, हामीले त्यस प्रकारको प्रतिगामी उद्देश्यको विरोध गर्दछौँ ।”
विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको पनि आलोचना गरिएको छ । विज्ञप्तिमा भनिएको छ– “प्रचण्डले एउटा पुस्तकको विमोचनको सन्दर्भमा जुन प्रकारको अभिव्यक्ति दिएका थिए, त्यसलाई हामीले गलत मान्दछौँ र त्यसको आलोचना गर्दछौँ ।”
“तर त्यसबारे उनीसित स्पष्टीकरण माग्न सकिन्छ र त्यसबारे संसदमा छलफल हुन सक्दछ । तर त्यो कारणले नै प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्ने कार्यलाई हामीले सही मान्दैनौँ ।”
प्रतिक्रिया राख्नुहोस्