लैंगिक विभेदका कारण जापानमा समाजबाट अलग हुने महिलाको संख्या बढ्दै
१४ लाख ६० हजार मानिस समाजबाट अलग, आधा संख्या महिलाको, कोरोनापछि धेरैको जीवन एकांकी
जापानमा समाजबाट अलग भएर बस्नेहरुको संख्या ठूलो छ । विशेष गरी १५ देखि ६४ वर्ष उमेर समूहका मानिसहरु एकान्तमा रहने गरेको र यसमा महिलाको संख्या आधा रहेको छ ।
एनएचकेको एक सर्वेक्षण अनुसार समाजबाट अलग हुनेको संख्या १४ लाख ६० हजार रहेका र त्यसमा आधा संख्या महिलाको पर्दछ । यसअघि समाजबाट अलग हुनेमा पुरुष मात्र हुन्छन् भन्ने मान्यता थियो ।
कतिपय महिलाहरुले समाजबाट हुने भेदभाव, अनावश्यक र अव्वहारिक अपेक्षाका कारण आत्मविश्वास गुमाएर एक्लै बस्न रुचाएका हुन् । जापानी भाषामा यसलाई ‘हिकिकोमोरी’ भनिन्छ ।
साजबाट अलग भएकी ४५ वर्षीय मिची (छद्म नाम) राजधानी टोकियोमा आफ्ना श्रीमानसंग बस्ने गर्दथिन्, उनी भन्छिन् कैयौंपटक विहान पार्कमा घुम्न जाउ भन्ने लाग्छ तर शरीर रोकिन्छ । शरीरले मनलाई साथ दिंदैन ।
मिची घरजग्गा व्यवसायी कम्पनीमा पार्टटाइम काम गर्थिन् । तर कोरोना महामारीका कारण व्यवसायमा आएको मन्दीका कारण उनको काम छुट्यो । त्यसपछि उनलाई अर्को काम मिलेन ।
कामको खोजीमा लिइने अन्तरवार्ताले मिचीलाई अरु निराश बनायो । अन्तरवार्ताका क्रममा उनीसंग घरमा तिम्रो आमा स्वस्थ रहन्छिन्, उनलाई कुनै प्रकारको हेरचाह आवश्यक छ जस्ता प्रश्नले उनी हैरान भइन् ।
अन्तरवार्ताका प्रश्नहरुले उनको मनमा पर्यो, बच्चा र बुढाबुढीको हेरचाह गर्ने काम महिलाको मात्र हो । महिला अरु काम गर्न सक्दिनन् जबसम्म उनी घरमा हेरचाह गर्नुपर्ने कोही पनि छैनन् ।
चारैतिरबाट काम नपाएपछि उनको मनमाा कसैलाई पनि आफ्नो आवश्यकता नभएको अनुभूति भयो । उनलाई मानिससंग कुुराकानी गर्ने इच्छा मर्यो, उदासी बढ्दै गयो । यतिबेला उनी यसको दोष आफैंलाई दिन्छिन् ।
मिचीलाई लाग्छ, मानिसहरुसंग कुराकानी गरुँ, तर के कुरा गर्ने ? उनको मनमा प्रश्न उठ्छ ? उनलाई यो कुराको आभाष छ कि केही यस्तो काम गरुँ जुन हरेक उमेर समूहका महिला गर्दछन् ।
जस्तो घरबार सम्हाल्नु, नोकरी गर्नु, बालबच्चा पाल्नु । तर मानिस ठान्छन् म बिग्रेको आइमाई हुँ र पूरै अरुमा निर्भर छु । तर, यस्तो होइन, म मानिससंग कुरा गर्न चाहन्छु, यद्यपि के कुरा गरुँ भन्ने निक्र्योल नै हुँदैन ।
यो एक प्रतिनिधि पात्र मात्र हो । जापानमा समाजबाट अलग हुनेहरुको संख्या बढ्दै गएपछि सरकारले यस्ता मानिसको सही जानकारी लिन अघिल्लो वर्ष एक सर्वेक्षण गरेको थियो ।
सो सर्वेक्षणमा सहभाी १३ हजार ७ सय ६९ मानिसले उत्तर दिएकोमा १५ देखि ६४ वर्ष उमेर समूहका २ प्रतिशतभन्दा बढी मानिस भविष्यमा कहिल्यै घरबाट बाहिर ननिस्कने किसिमका थिए ।
अर्को महत्वपूर्ण कुरा यसरी उत्तर दिने मानिसहरुले यसको प्रमुख कारण विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रहेको बताए । जसले गर्दा रोजगारी, अध्ययन, व्यापार सबै गुमाउनु परेको थियो ।
समाजबाट अलग भएर बसेका भए पनि उनीहरु समाजमा आफ्नो स्थान प्राप्त गर्न छटपटिएका छन् । एनएचकेको अनलाइनमा प्रकाशित समकाचार विवरणमा प्रतिक्रिया दिनेहरुले यस्तो कुरा बताएका छन् ।
उनीहरुले जुन रुपमा चुनौतिहरुको सामना गर्नु परेको छ त्यसका बारेमा बताउन अति मुस्किल छ । सर्वेक्षणमा सहभागी ५० वर्षभन्दा बढी उमेरकी एक महिला आफ्नो घरको सबै काम गर्छिन्, एक नर्सले जस्तै परिवारको हेरचाह गर्छिन ।
तर, बाहिर कोही पनि उनलाई काम दिन चाहँदैन । हरेकपटक उनलाई इन्कार गरिन्छ । यसले उनमा निराशा बढाउँदै समाजबाट अलग हुन पुगिन ।
समाजबाट अलग हुनुको मुख्य कारण नै कामको अभाव हो । उमेर पुगेका महिला मात्र होइन भरखरका महिलालाई पनि यही समस्या छ । एक महिलाले आफू गर्भवती हुने चाहना राख्दा काम छाड्नु पर्यो, तर सन्तान जन्माउन सकिनन् । उनी दुबैमा असफल भएपछि कोहीसंग भेटघाट गर्दिनन् ।
उपाय
यो विषयमा २० वर्षदेखि आवाज उठाइरहेका पत्रकार मासाकी इकेगामीका अनुसार “एकांकी महिलाहरुमाथि पुरुषको तुलनामा अलग दवाव हुने गर्दछ । यस्ता महिलाहरु आफ्नो सपना अनुसार बाँच्न चाहन्छन्, आफ्नो इच्छाहरु पूरा गर्न चाहन्छन् तर यिनीहरुमा घरबार चलाउने र बच्चा पाल्ने जिम्मेवार रहन्छ । यस्तो असहनीय जीवन बाँचिरहँदा पनि उनीहरुले आवाज उठाएनन् ।”
उनी भन्छन्, “समाजको लैंगिक रुढीवादी परम्पराका कारण महिलाहरुले जस्तो प्रकारको जीवनबाट गुज्रिरहनु परेको छ त्यसबाट मुक्त हुनका लागि र आफूलाई बदल्नका लागि समय चाहिन्छ । एकांकी महिलाहरुले घरभन्दा बाहिर आफूलाई कुनै दवाव नआउने स्थानबाट सहयोग लिनु पर्दछ । त्यहाँ उनले आफ्नो समस्या खुलस्त भन्न सकुन । यसबाट विस्तारै विस्तारै खुसी आउन थाल्छ ।”
यदि समाजबाट विरक्तिएका महिलाहरु कोही विश्वासिलो सम्बन्ध भएकासंग कुराकानी गर्न सुरु गर्छिन् भने उनी समाजसंग लड्न सकिक्छन्, आफूलाई पुनः स्थापित गर्न सक्छिन् ।
समाजबाट विरक्तिएका महिलाहरुको सहयोगका लागि टोकियोमा एक समूहले हरेक महिना छलफल गर्ने गर्दछ । यहाँ महिलाहले आफूलाई सुरक्षित भएको महसुस गर्दछन् जहाँ उनीप्रति कसैले कुनै धारणा नराखी उनी जस्तो छिन त्यस्तै अवस्थामा रहन दिइन्छ ।
प्रतिक्रिया राख्नुहोस्