नेपाल-भारत -चीनबीच त्रीपक्षीय सहकार्य हुनुपर्छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपाल, भारत र चीनको बीचमा रहेको उल्लेख गर्नुहुँदै सो धारणा राख्नुभएको हो ।
उपराष्ट्रति पुनसंग आन नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले गर्नुभएको शिष्टाचार भेटमा उहाँले त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्नसक्ने पनि बताउनुभयो ।
उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको र दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसै गरी उपराष्ट्रपति पुनले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको औंल्याउँदै नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउनुहुँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको बताउँदै नेपालसँग भारतको विशिष्टसम्बन्ध रहेको उल्लेख गर्नुहुँदै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा नेपाल भारतसम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्