कर्णालीप्रदेश

खोजमूलक समाचारले सरकारलाई सहयोग गर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खोजमूलक समाचारले सरकारलाई काम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज सुर्खेतको समन्वयमा सञ्चालित दुई दिने ‘संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण’ को समापनमा मुख्यमन्त्री कँडेलले सदन, सरकार र समाजमा भएका बेथिति, अनियमितता र गलत कार्यको खोज गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारले सत्यतथ्य नबुझी लेखेको समाचारले परिस्थिति अर्कै ठाउँमा पुग्छ । यसमा निस्वार्थ, निष्पक्ष रुपले भरपुर क्षमता प्रयोग गरी खोजी समाचार लेख्नुहोस् । तपाईंहरुको सानो समाचारले पनि महत्वपूर्ण अर्थ राख्दछ ।” संसदीय मामिलासम्बन्धी रिपोर्टिङ प्रशिक्षणले लेखन कलामा परिस्कृत रुप आउनुको साथै पत्रकारको सीप र क्षमता अभिवृद्धिमा सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल शर्माले ‘संसदीय रिपोर्टिङसम्बन्धीको प्रशिक्षणले प्रदेशसभाको काम कारबाही, सदस्यहरुको भूमिकालाई नागरिक तहसम्म पुर्याउन सहयोग पुग्ने बताउनुभयो ।

‘पत्रकारको कलम, नागरिकका लागि मलम’ बनोस् भन्दै उहाँले शुभकामना दिनभयो । सचिव शर्माले भन्नुभयो, “उन्नत लोकतन्त्र, सभ्य एवं समृद्ध समाजका लागि वस्तुनिष्ठ पत्रकारिता आवश्यकता हो भने पत्रकारिता संवेदनशील क्षेत्र हो । कानुनी प्रबन्धहरुदेखि हरेक कुरामा पत्रकार संवेदनशील हुनुपर्दछ । यसका लागि अध्ययन आवश्यक छ ।”

प्रदेशसभा सञ्चालन नियमावली, कार्यविधि र ऐनका विषयमा सही तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै सचिव शर्माले नागरिकका आवाज सरकारसँग र सरकारका गतिविधि नागरिकसम्म पु¥याउन पत्रकारको अहम् भूमिका रहेको जनाउनुभयो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक सूर्यमणि गौतमले व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकाको प्रकृति, स्वरुप र क्षेत्राधिकार, सभामुख तथा मुख्यमन्त्रीको चयन, प्रदेशसभा सञ्चालनका विधि, विधेयकको उत्पतिदेखि ऐन, बन्ने प्रक्रियाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षक रामकृष्ण भण्डारीले संसदीय पत्रकारिताको इतिहास र विकासक्रम एवं संसदीय रिपोर्टिङका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभयो ।

प्रशिक्षक विनु सुवेदीले संसद् सञ्चालन विधि, प्रक्रिया र अभ्यास तथा जनप्रतिधिहरुको दायित्व र प्रदेशसभा सचिवालयका कानुन उपसचिव अर्जुन भुसालले प्रदेश तहको कानुन निर्माणको प्रक्रिया, प्रत्यायोजित अधिकार, विधेयकको प्रकार, सङ्घ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसमन्वय) ऐन, २०७७ र विधेयक तर्जुमका लागि १३ बुँदे अवधारणा–पत्रका बारेमा पत्रकारलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.