बेचन पक्राउपछिको बेचैनीले सरकार ढाले (भिडियोसहित)
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने मुख्य मतियार बेचन झा पक्राउ परेसंगै सरकार ढालिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद डा. वाग्लेले बेचनको पक्राउपछि ठूला पार्टीका शीर्ष नेतामा बेचैनी उत्पन्न भएको र यसैको खेलमा सरकार ढालिएको बताउनुभयो ।
डा. वाग्लेले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको र हालै मात्र झाको अडियो सार्वजनिक भएको खुलाउँदै यसले धेरै कुरा खोल्ने बताउनुभयो ।
अघिल्लो साँझ झा पक्राउ पर्छन्, भोलिपल्ट सरकार ढल्छ ? यो स्पष्टै छ, नेपाली जनताले नजिकबाट हेरिरहेका छन् भन्दै डा. वाग्लेले बेचनको विषयमा अमेरिकाको एफबीआईले पनि अनुसन्धान गरिरहेको बताउनुभयो ।
नयाँ सरकारको नेतृत्व गर्न तम्सिइरहेको नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीले राजीनामा नदिएर बाटो नखोलेको आरोप लगाइरहेका बेला रास्वपाका सांसदहरुले भने सरकार ढल्नुको मुख्य कारण बेचन झा पक्राउ पर्नु रहेको बताइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्