एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन यही जुलाई २१ र २२ मा हुनेछ ।
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्यसचिव रुद्र थापा र सदस्यहरु लक्ष्मी राई (लारा) एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन गरिएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले अनलाइन मतदान गरिने जनाए । उहाँका अनुसार, आउँदो २१ जुलाई मध्यान्ह १२ बजेदेखि २२ जुलाई मध्यान्ह १२ बजेसम्म अनलाइन मतदान हुनेछ ।
नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ । घोषणासभामा नेपाल र बेलायतका विशिष्ठ व्यक्ति तथा एनआरएन अभियन्ताहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यसपटक देखि एनआरएनए यूकेको नयाँ सदस्यता लिन वा नवीकरण गर्न शुल्क लाग्ने छैन् । गत २१ मेमा सम्पन्न संघको विशेष साधारणसभाले सदस्यता शुल्क निशुल्क गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष प्रेम गाहामगरले आगामी १५ जुलाई सम्म नयाँ सदस्यता दर्ता तथा नवीकरणका लागि खुल्ला गरिने जनाए । अनलाइन पोर्टलमार्फत सहजै सदस्यता लिन सकिने संघले जनाएको छ ।
एनआरएनए यूके अध्यक्ष गाहामगरले आफ्नोबाहेक अन्य कुनै व्यक्ति वा समूहले गर्न लागेको भनिएको अधिवेशन आधिकारिक नभएको पनि स्पष्ट पार्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्