नेपालका कारागारमा छन् १,३३६ विदेशी कैदी बन्दी
नेपालमा बसेर विभिन्न अपराधमा संलग्न भएर जेल जीवन बिताइरहेका विदेशी कैदी बन्दीको संख्या ठूलै छ । नेपाली कारागारमा विदेशी कैदीबन्दीको सङ्ख्या १,३३६ रहेको तथ्याङ्क छ ।
७२ जिल्लामा ७४ वटा कारागारमध्ये विभिन्न जिल्लाका कारागारमा अमेरिका, युरोपदेखि चीन र भारतीय बन्दीहरु रहेका छन् । लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक कारागारमा छन् ।
विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दाका दोषी ठहरिएका विदेशी कैदीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेको तथ्याङ्कले देखाउँछ। जेठ महिनासम्म उनीहरूको सङ्ख्या १,१७५ रहेको छ जुन कुल विदेशी कैदीबन्दीको ८७.९४ प्रतिशत हुन आउँछ।
तीमध्ये वाग्मती प्रदेशका कारागारमा सबैभन्दा धेरै ३८८ जना भारतीय कैदीबन्दी रहेका छन् । त्यसपछि मधेश प्रदेशमा २५९ जना भारतीय कैदीबन्दी छन्। कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् एकजना भारतीय कैदीबन्दी रहेको तथ्याङ्क छ।
अर्को छिमेकी मुलुक चीनका २६ जना कैदीबन्दीले सजाय काटिरहेका छन् । भुटानका २२, पाकिस्तानका २१, बाङ्ग्लादेशका नौजना छन् भने अमेरिकाका तीनजना छन् ।
विभागका अनुसार रुस, डेनमार्क, जर्मनी, यूके, सिङ्गापुर, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, जापान लगायत देशका पनि नागरिकहरू अहिले कैदीबन्दीका रूपमा कारागारमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्