सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत, बालसाहित्य/लोकसाहित्य पुरस्कार चालिसेलाई
सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको हो ।
मन्त्रालयले महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो ।
ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गर्नुभयो ।
जनही रु एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार विभिन्न विधाका चार स्रष्टालाई प्रदान गरिएको छ । भाषा एवं साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज ‘अभय’(कट्टेल), संस्कृति विधातर्फ काठमाडौँका डा रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फको पुरस्कार हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उहाँहरुलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ ।
जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कारबाट भाषा एवं साहित्य विधामा धनकुटाका डा यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा हरिप्रसाद सिलवाल, पर्वतका डा बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखतबहादुर थापा सम्मानित हुनुभएको छ ।
यस्तै संस्कृति विधातर्फ ओखलढुङ्गाका डा लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा राजकुमार सेवदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा त्रैलोक्यनाथ जोशी पुरस्कृत हुनुभएको छ ।
ललितकला विधामा क्रमशः छितेन शेर्पा (झापा), पुनम कुमारीदेवी (महोत्तरी), जवीन राजोपाध्याय (काठमाडौँ), तिलकप्रसाद पुन (पोखरा), खेमबहादुर विक (रुपन्देही), कोशलकुमार हमाल (मुगु) र महेन्द्र पुन मगर (डडेल्धुरा)लाई पुरस्कृत गरिएको छ ।
सङ्गीत तथा नाट्य विधामा प्रादेशिक प्रतिभा पुरस्कार सुगम पोखरेल (मोरङ, रामनारायण ठाकुर (जनकपुरधाम), नवीन पौडेल (काठमाडौँ,) केशरी घर्ती मगर (पोखरा’, उन्नती बोहरा (रुपन्देही), उत्तम शर्मा (उत्तरगङ्गा ) र अम्बरबहादुर लामा (डोटी) पुरस्कृत हुनुभएको छ ।
मन्त्रालयले महाकवि देवकोटा पुरस्कार, २०७८ बाट कविता/काव्य विधामा डा बेञ्जु शर्मा काठमाडौँ, निबन्ध/समालोचनामा रामकुमार श्रेष्ठ तनहुँ, खद्दाखना/नाटकतर्फ डा पुष्करराज भट्ट कैलाली, बालसाहित्य/लोकसाहित्यमा विजय चालिसे काठमाडौँ, र भाषासाहित्य विधामा आरडी, प्रभास चटौत डडेल्धुरालाई पुरस्कृत गरेको छ ।
त्यस्तै भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुहुनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा गोविन्द नेपाली हुनुहुन्छ । यो पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ ।
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, २०७९ कविता विधामा दाङ्का डा अमरराज गिरी र नाटक विधाको पुरस्कार विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ । त्यसैगरी मन्त्रालयले यसैवर्षदेखि सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्रा डा त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्