जन सरोकार

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो ।

वनमा पोखरी

कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो । पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा–एउटा पोखरी निर्माण गरिएको छ । केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिनुभयो । वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताउनुभयो । यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ ।

वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिनुभयो । उहाँका अनुसार इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वन, राप्ती–७ को बागदेवी सामुदायिक वन, राप्ती–१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका–८ को देवीढुङ्गा सामुदायिक वन, कालिका–८ कै मङ्गलादेवी सामुदायिक वन, भरतपुर–१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका–५ को भीमवली सामुदायिक वन र कालिका–२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ ।

पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले रु ३१ लाख खर्च गरेको छ । यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ । नयाँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३ सामुदायिक वन रहेका छन् । यी वनमा साना ठूला वन्यजन्तु छन् । बाघ, गँैडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन् । चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङ सुक्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताउनुहुन्छ । चर्तुमुखी वनमा तीन पोखरी निर्माण गरिएको छ । दुई प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ भने एउटा पोखरीमा सोलारसहितको बोरिङ खनिएको छ । उहाँले पोखरी संरक्षणका लागि सामुदायिक वनले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गरेर काम गर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.