खेलफूटबल

कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा मंगलबार सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।

कोशी प्रदेशस्तरीय महिला फुटबल

झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफरले उत्कृष्ट खेलाडी भइन् । उनले सेमिफाइनल खेलमा ताप्लेजुङविरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक झापाकी जसोदा राई, उत्कृष्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर झापाकी सिम्रन राई, उत्कृष्ट फरवार्ड भोजपुरकी आरती भुजेल र उदीयमान खेलाडी खोटाङकी रिया राई घोषित भए । उनीहरुले जनही रु तीन हजार पुरस्कार प्राप्त गरे ।

विजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतले पुरस्कार प्रदान गरे । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिए । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण गरिएको खेलमैदानमा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.