युक्रेन युद्ध अन्त्य गर्न प्रधानमन्त्री मोदीको राष्ट्रपति पुटिनलाई आग्रह
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा नभई वार्तामा निहित रहेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीको सो आग्रहलाई अमेरिकाले स्वागत गरेको छ । अमेरिकाले रूससँगको भारतको सम्बन्धले युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको भन्दै ह्वाइट हाउसले मङ्गलबार खुसी व्यक्त गरेको छ ।
ह्वाइट हाउसका सञ्चार सचिव करिन जिन पियरेले भारतलाई अमेरिकाको ‘रणनीतिक साझेदार’ बताउदै उहाँले युक्रेनमा स्थायी शान्ति कायम गर्ने प्रयासलाई भारतसहित सबै राष्ट्रले समर्थन गर्नु महत्वपूर्ण रहेको बताउनुभयो ।
“रूससँगको भारतको लामो समयदेखि रहँदै आएको सम्बन्धले राष्ट्रपति पुटिनलाई युक्रेनमा युद्धको अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको छ,” उहाँले बताउनुभयो ।
“हाम्रो आउँदो पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति सबैभन्दा महत्त्वपूर्ण छ भन्ने एक मित्रको रूपमा मैले सधैं भन्ने गरेको छु । युद्धभूमिमा समाधान सम्भव छैन अर्थात बम, बन्दुक र गोलीको बिचमा समाधान र शान्ति वार्ता सफल हुँदैन । हामीले वार्ताको माध्यमबाट मात्र शान्तिको मार्ग अनुसरण गर्नुपर्नेछ,” बैठकमा प्रधानमन्त्री मोदीले बताउनुभयो ।
सन् २०२२ मा मस्को र किएभबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो रूस भ्रमण हो । भारतले युक्रेन र रूसबिचको द्वन्द्व समाधानका लागि सधैँ ‘शान्ति र कूटनीति’ को वकालत गरेको छ ।
यसअघि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति निराशा व्यक्त गर्दै यसलाई ‘शान्ति प्रयासमा विनाशकारी प्रहार’ भन्नुभएको थियो ।
प्रधानमन्त्री मोदी जुलाई ८ देखि ९ मा रूसको दुई दिने आधिकारिक भ्रमणमा रहनुभएको थियो । आफ्नो भ्रमणको क्रममा उहाँले मङ्गलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्नुभएको हो । प्रधानमन्त्री मोदीले मस्कोमा भारतीय समुदायलाई पनि सम्बोधन गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्