यसपटक एमालेले काम गर्नसक्ने नेतालाई सरकारमा पठाउने
नयाँ सरकारको नेतृत्वको संघारमा पुगेको संसदको दोस्रो ठूलो दल नेकपा एमालेले अब गठन हुने सरकारमा पार्टीका तर्फबाट काम गर्नसक्ने नेतालाई मात्र पठाउने निर्णय गरेको छ ।
बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिनसक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमाले उपमहासचिव ज्ञवालीका अनुसार कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्नेछन् । सरकारमा सहभागी हुन चाहने दललाई संसदमा रहेको उक्त दलको हैसियत अनुसार स्थान दिन सकिने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले सदनमा विश्वासको मत माग्दा विपक्षमा मत दिन पनि एमालेले ह्वीप जारी गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्