हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, मृतक छजनाको शव काठमाडौं ल्याउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ । प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो ।
प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकाेका नागरिकको मृत्यु भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकाेका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन् ।
प्रजिअ भट्टराईले मृतक सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको बताउनुभयो । स्थानीयबाट हेलिकोप्टर दुर्घटनाको खबर आउनासाथ सोलुदूधकुण्ड नगरपालिका–२ बेनीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो ।
मृतकको शव काठमाडौं लैजनका लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटना स्थल पुग्न सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्