क्रिकेटखेल

स्कटल्याण्डमा छताछुल्ल ब्याटिङ समस्या, नामिबियासंग ४० रनको हार

२०२३ मा हुने एकदिवसी विश्वकपको छनोटको रुपमा समेत रहेको विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।

यसपटक नेपालको कमजोर ब्याटिङ पुनः छताछुल्ल भएको छ भने टीमको एकतामा समेत पुनः प्रश्न उठेको छ । लामो समयदेखि टीम संरचनामा अप्रत्यक्ष विवाद रहेको चर्चाकाबीच नेपालको प्रदर्शन खस्किदै गएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबयाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा अलआउट भएको थियो । उसका लागि जान निकोल लाफ्टी एटनले सर्वाधिक ६० रन बनाए । डिभान ला कुकुले ४१ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यसै खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका वसिर अहमदले किफायती बलिङ गर्दै ७.३ ओभरमा १८ रन मात्र खर्चिएर १ विकेट लिए । आरिफ शेखले क्रेग विलियम्सलाई डाइरेक्ट हिटमार्फत रनआउट गराएका थिए ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । आरिफ शेखले संयमित भएर खेल्दै अविजित ५० रन बनाए पनि गतिलो साथ नपाउँदा र साझेदारी नबन्दा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

छैटौं नम्बरमा ब्याटिङ गरेका आरिफले ८४ बल खेल्दै २ चौका प्रहार गरे । देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन जोडे । मिडलर अर्डर र लोअर अर्डरमा आरिफ बाहेक कसैले पनि व्यक्तिगत २० रन बनाउन सकेनन् । करण केसीले ११ बलमा १९ रन जोडेका थिए ।

यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.