हतियार किन्ने विषयमा प्रहरीको यस्तो प्रष्टिकरण
मुलुक आर्थिक संकटबाट गुज्रिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न ८४ करोड रुपैयाँ विनियोजन गरेपछि कमिशनको खेलमा हतियार किन्न लागेको आरोप संसदमा पनि लागेको छ ।
इन्धनको आकाशिंदो मूल्यवृद्धिसंगै आम जनजीवन कष्टकर बन्दै गएका बेला हतियार किन्न लागेपछि अनेक प्रश्न उठिरहेका बेला नेपाल प्रहरीले आवश्यक भएर नै हतियार किन्न लागेको प्रष्टिकरण दिएको छ ।
प्रहरीले कम घातक हतियारहरू, छोटो दुरीको पेस्तोल, सटगन र ग्यास सेलहरू किन्न लागेको हो । अहिले भएका हतियारहरू पनि खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, बिग्रिने र मिति समाप्त भएकाहरू रहेको प्रहरीले स्पष्ट पारेको छ ।
सोमबार प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले प्रहरीलाई हतियारको अभाव भएको र चुनाव लक्षित गरी किन्न लागिएको स्पष्ट पार्नुभएको छ ।
प्रवक्ता राईले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि हातहतियार नकिनेकाले अभाव भएको र चुनावको शान्ति सुरक्षाका लागि हतियार किन्न लागेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा नेपाल प्रहरीको संगठनात्मक ढाँचा र दरबन्दीमा पछिल्लो समयमा भएको बढोत्तरी एवं सात वर्षभन्दा लामो समयदेखि हातहतियार खरिद नभएकाले चरम अभाव झेल्दै आएको बताइएको छ।
विज्ञप्तिमा सरकारबाट हतियार खरिदका लागि रकम विनियोजित गरी सार्वजनिक खरिद सम्बन्धी कानुनअनुसार हतियार खरिद गर्ने प्रक्रिया अघि बढाएको पनि उल्लेख छ ।
डिआइजी राईका अनुसार प्रहरीले यसअघि स्थानीय तहको निर्वाचन गराउन नै हातहतियार खरिद गर्न खोजेको थियो । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले चैत २३ गते नै हातहतियार खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो ।
चैत २४ गतेदेखि नै प्रहरीले खरिद प्रक्रिया अघि बढाएको उनले बताए। तर वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि हातहतियार आइनपुग्ने भएकाले प्रहरीले नेपाली सेनासँग हतियार मागेको थियो।
चुनावका लागि प्रहरीले सेनासँग ९९९ वटा पेस्तोल सापटी लिएर चलाएको थियो। सो पेस्तोल अहिले सेनालाई नै फिर्ता गरिसकेको डिआइजी राईले बताउनुभएको छ ।
प्रहरीले हतियार खरिद गर्न सरकारसँग ९४ करोड रूपैयाँ माग गरेको थियो। सरकारले भने ८४ करोड रूपैयाँ मात्र विनियोजन गरेको छ।
विज्ञप्तिमा संघ तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न तथा नागरिकको जिउधन सुरक्षाका लागि पनि हातहतियार अति आवश्यक भएको वास्तविकता जानकारी गराउन चाहन्छु भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्