प्रधानमन्त्री प्रचण्ड पाँचौंपटक विश्वासकोे मत लिन असफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास गुमाउनुभएको छ । १८ महिनाको अवधिमा पाँचपटक विश्वासको मत लिंंदा यसपटक उहाँ मत लिन असफल हुनुभएको हो ।
शुक्रबार बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १ सय ९४ मत परेको हो। सदनमा उपस्थित २ सय ५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बस्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो। असार १७ गते कांग्रेस–एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री पाँचौँ पटक विश्वासको मतको प्रस्ताव राख्नुभएको हो।
प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले साथ दिए पनि त्यो पर्याप्त भएन । दुई ठुला दल कांग्रेस, एमालेले विपक्षमा मत दिँदा प्रधानमन्त्रीले सदनको बहुमत १३८ सङ्ख्या पुर्याउन नसक्नुभएको हो ।
सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकारमा सहभागी दल एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो।
सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।
प्रारम्भमा उहाँ एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री हुनुभएको थियो ।
पहिलो पटक प्रधानमन्त्रीले सदनमा करिब शतप्रतिशत मत पाउनुभएको थियो । २०७९ पुस २६ मा प्रतिनिधि सभामा विश्वासको मत लिँदा उहाँले २६८ मत पाउनुभएको थियो । उपस्थितमध्ये दुई सांसदले मात्र विपक्षमा मतदान गरेका थिए । कांग्रेस, एमालेलगायतका सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
राष्ट्रपति निर्वाचनका बेला नै एमाले र माओवादी केन्द्रको गठबन्धन तोडिएपछि प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुपरेको थियो । उहाँले दोस्रो पटक १७२ मत पाउनुभएको थियो।
एक वर्षको सत्ता सहयात्रापछि कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले पुनः एमालेसँग सहकार्य गर्नुभएको थियो । गठबन्धनमा विग्रह आएसँगै प्रधानमन्त्रीले तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिनुभएको थियो।
तेस्रो पटक उहाँले १५७ मत पाउनुभएको थियो । यस्तै सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एक पक्षले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिनुभएको थियो ।
चौथो पटक पनि उहाँले १५७ मत नै पाउनुभएको थियो। पाँचौंपटक नेकपा एमालेले समर्थन फिर्ता लिएपछि भने उहाँले विश्वास पाउनुभएन ।
प्रतिक्रिया राख्नुहोस्