राजनीति

"भारतले हस्तक्षेप गरी सीमामा भौतिक संरचना निर्माण गर्दा तराईमा डुबान"

गृहमन्त्री रामबहादुर थापाले भारतले सीमामा अनधिकृत रुपमा बनाएको संरचनाका कारण पानीको वहाव रोकिएर तराईमा डुबान भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री थापाले सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको बताउनुभयो ।

सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताउँदै मन्त्री थापाले पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको बताउनुभयो ।

मन्त्री थापाले नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माण बारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको र त्यसो हुनुमा भारत सरकार जिम्मेवार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो- “यसबारेमा सरकारले पहल नगरेको होइन । उनीहरूले त्यो बाँध र बाटो बनाएका छन्, त्यसमा निकास दिनुपर्‍यो भनेका हौं । निकास भएन भने त नेपाल पुरै डुबानमा पर्छ । उनीहरुले आफ्नो रक्षाको निम्ति बाँध, तटबन्ध बनाए तर नेपालमा खतरा आयो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भयो ।”

समितिको छलफलमा सांसदहरूले भारतले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए । उनीहरूले भारतले सीमामा निर्माण गरेका बाँधका कारण पनि नेपाल डुबानमा परेको बताएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.