खाद्यान्न सङ्कट अझै महामारीअघिको स्तरभन्दा माथि : संयुक्त राष्ट्रसङ्घ
विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले बुधबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।
गत वर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाखको हाराहारीमा मानिस भोकमरीको सामना गरेका थिए अर्थात् औसतमा ७३ करोड ५० लाख मानिस भोकमरीको चपेटामा परेका प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१९ मा विश्व जनसङ्ख्याको ७.९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ९.२ प्रतिशत पुगेको छ ।
‘स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वल्र्ड’को प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२२ को बीचमा खाद्य सङ्कट करिब ३८ लाख मानिसको सङ्ख्यामा कमी आएकाले वार्षिक वृद्धि ‘रोकिएको’ हो ।
अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीहरूले चेतावनी दिएका छन् ।
यो प्रतिवेदन ‘विश्व अझै पनि विश्वव्यापी महामारीबाट गुज्रिरहेकोे र अहिले युक्रेनमा युद्धको परिणामसँग जुधिरहेको अवस्थामा आएको हो । यसले खाद्य र ऊर्जा बजारलाई थप झकझकाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१९ यता यी सङ्कटले थप १२ करोड २० लाख मानिसलाई भोकमरीमा डुबाएको छ ।
“महामारीपछिको आर्थिक पुनः रुत्थानले स्थितिमा सुधार ल्याउन मद्दत ग-यो, तर युक्रेनको युद्धका कारण खाद्यान्न र ऊर्जाको मूल्यवृद्धिले सामान्य प्रगतिलाई कमजोर बनाएकोमा कुनै शङ्का छैन,” प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “यो अनुमानले भोकमरी ‘अब विश्वव्यापी स्तरमा बढिरहेको छैन’ तर यो ‘कोभिड–१९ महामारीअघिको स्तरभन्दा निकै माथि छ र भोकमरीमुक्त विश्वको दिगो विकास लक्ष्य–२ हासिल गर्ने मार्गबाट निकै टाढा छ ।
संयुक्त राष्ट्रसङ्घका निकायहरूका अनुसार विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषणजस्ता सबै प्रकारका खाल सङ्कटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहनेछ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै सन् २०३० को पोषण लक्ष्य हासिल गर्ने दिशामा केही क्षेत्र अघि बढेको बताउनुभएको छ ।
तर समग्रमा भन्नुपर्दा दिगो विकास लक्ष्यलाई उकास्न हामीलाई तीव्र र तत्काल विश्वव्यापी प्रयासको खाँचो छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१५ मा तयार पारेको दिगो विकास लक्ष्यमा भोकमरी र गरिबीको अन्त्यलगायत १७ वटा अन्तरसम्बन्धित उद्देश्य समावेश छन् । यदि प्रगतिको गति अघि बढ्न सकेन भने सन् २०३० सम्ममा पनि करिब ६० करोड मानिस भोकमरीको चपेटामा पर्न सक्छन् ।
खाद्य असुरक्षा र कुपोषणका प्रमुख कारकहरु द्वन्द्व, आर्थिक सङ्कट, प्राकृतिक विपत्तिका साथै असमानता नवसामान्य बन्न पुगेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय कृषि विकास कोषका प्रमुख अल्भारो लारियोले भन्नुभयो, “हामीले जुन कुराको कमी महसुस गरिरहेका छौं, त्यो भनेको लगानी र राजनीतिक इच्छाशक्ति हो ।”
विश्व खाद्य कार्यक्रमले गत मे महिनामा सोमालिया, केन्या र इथियोपियाका दुई करोड ३० लाखभन्दा बढी मानिसलाई अनिकाल पर्ने चेतावनी दिएको थियो । सन् २०२२ मा विश्वका १० मध्ये तीन जना गरी करिब २ अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए ।
महामारीले धेरै मानिसको आयमा असर पारेको र युक्रेन युद्धका कारण मूल्य वृद्धि भएको र अर्बौं मानिस किफायती स्वस्थ आहारको पहुँचबाट बञ्चित भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार गत वर्ष तीन अर्ब १० करोडभन्दा बढी मानिससँग स्वस्थ र सन्तुलित आहारका लागि पर्याप्त पैसा थिएन ।
डब्लुएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले बुधबार चेतावनी दिँदै भन्नुभयो, “भोकमरी बढिरहेको छ भने अति जोखिममा रहेकाहरूको सुरक्षाका लागि हामीलाई तत्काल आवश्यक पर्ने स्रोतहरू खतरनाक रूपमा कम भइरहेका छन् ।”
म्याक्केनका अनुसार हामीले अहिलेसम्म देखेको सबैभन्दा ठूलो मानवीय चुनौतीकोरूपमा भोकमरीको समस्याको सामना गरिरहेका छौं ।
प्रतिक्रिया राख्नुहोस्