अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, गोली हान्ने व्यक्ति मारिए
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको हो ।
बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।
अमेरिकी सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लेल्मीले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उहाँमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ ।
घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । ट्रम्पलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार उहाँमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो । त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।
यसबीच राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा रहनुभएको थियो ।
चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै ाष्ट्रपति बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्नुभएको हो ।
उहाँले यस्ता खालका आक्रमणको निन्दा गर्न सबै अमेरिकीलाई एकजुट हुन आह्वान गर्दै अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान नभएको बताउनुभयो ।
राष्ट्रपति बाइडेनले ट्रम्प सुरक्षित रहेको र उहाँको स्वास्थ्य राम्रो रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको पनिबताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्