कियाचु जापान पत्रकारिता पुरस्कार पत्रकार कोइराला र शेर्पालाई प्रदान गरिने
किरात याक्थुङ चुम्लुङ, जापानले सिसेःक्पा तङ्नामको अवसरमा यही जुलाई १७ तारिख आईतबार चुम्लुङ, जापानद्वारा प्रकाशित मुक्कुम्लुङ्मा स्मारिका विमोचन गर्ने भएको छ ।
सोही समारोहमा जापानलाई कर्मभूमि बनाएर जापानवासी नेपालीहरूका लागि सञ्चारको क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका दुई संचारकर्मीलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।
यसरी पुरस्कृत हुनेमा करिव दुई दशक पत्रकारीता क्षेत्रमा सकृय पत्रकार तथा नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला र फोनिज न्यूज डट कमका सम्पादक फुर्वा शेर्पा हुनुहुन्छ।
दुवैलाई जनही दश हजार येन नगद सहित ‘किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार– २०२२’बाट सम्मान गरिने संस्थाका सचिव एवम् प्रचार प्रसार विभाग प्रमुख लाखध्वज मादेम्बाले जानकारी दिनुभएको छ ।
चुम्लुङ, जापानका अध्यक्ष सुदीप पालुङ्वाले जापानको राजधानी टोकियोको ओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा आयोजना गर्न लागिएको कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका विमोचन गर्न लागिएको जानकारी दिनुभयो ।
लिम्बुवानको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मुक्कुम्लुङ परिसरमा किरात याक्थुङ चुम्लुङ, जापानले करिब पैतीस लाख लागतमा ‘मुक्कुम्लुङ केलाःङ निङ्वासो’ (च्याब्ब्रुङ स्तम्भ) निर्माण गरेको छ ।
उक्त स्तम्भ निर्माणका लागि आर्थिक सहयोग दाताहरूको विवरणसँगै विभिन्न विषय क्षेत्रका लेखकहरूको अनुसन्धानमूलक लेखहरू तथा संस्थाका गतिविधिहरू स्मारिकामा समावेश गरिएको स्मारिकाका सम्पादक एवम् संस्थाका महासचिव मुक्साम लाओतीले जनाउनुभयो ।
कार्यक्रममा साक् नाःप्मा थिम्बेसँगै याक्थुङ जातिको मौलिक सांस्कृतिक नाच यारुलाःङ र केलाःङ प्रस्तुत हुनेछ । साथै, विभिन्न कलाकारहरूबाट मनोरञ्जनात्क गीत तथा नृत्य समेत प्रस्तुत हुने बताइएको छ ।
कार्यक्रमलाई भव्य रूपमा सफल पार्न उपस्थितिका लागि आयोजक किरात याक्थुङ चुम्लुङ, जापानले जापानवासीहरूमा अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्