जन सरोकार

नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल

नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हाल्नुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले जिम्मेवारी सम्हाल्नुभएको हो ।

विभिन्न मिडियाका रक्षा समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उहाँले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्न जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौ राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तररुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो ।” यसअघि उहाँ जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्र्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे हुनुहुन्थ्यो । उहाँ करिव १५ महिनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्न जाँदै हुनुहुन्छ । भेटघाटमा उहाँले सेना र प्रेसजगत् कार्य प्रकृतिका हिसाबले दुई भिन्न क्षेत्र भए पनि अखण्ड, समृद्ध, शान्त राष्ट्र नेपाल निर्माणमा दुवैको भूमिका र जिम्मेवारी उच्च र अन्योन्याश्रित छ भन्नुभयो ।

सहायक रथी पाण्डेले भन्नुभयो, “आम जनतालाई सुसूचित पार्दै समृद्ध समाज निर्माणका लागि खबरदारी गर्ने प्रेसजगत् तथा जनता र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सेनाबीच कार्य प्रकृतिका हिसाबले भिन्न मान्यता रहे पनि राष्ट्रिय स्वार्थ र राष्ट्रियहित दुवै निकायको सर्वोपरी लक्ष्य हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.